बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

बैंकको पैसा धेरै मानिससम्म पुर्‍याउन आफ्नो ध्यान रहेको भन्दै गभर्नर पौडेल भन्छन् - ठगी गरे कारबाही गरिन्छ

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ३ २०८२
बैंकको पैसा धेरै मानिससम्म पुर्‍याउन आफ्नो ध्यान रहेको भन्दै  गभर्नर पौडेल भन्छन् - ठगी गरे कारबाही गरिन्छ

ग्राहकलाई समस्यामा पार्ने वा विभिन्न बहानामा ठगी गरेको पाइए सो बैंकलाई बिना कुनै छुट तुरुन्त कारबाही गर्ने गभर्नर पौडेलको भनाइ छ।

धनुषा- नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कुनै पनि बैंकले ग्राहकलाई ठगी गरेको पाइएमा तुरुन्त कारबाही गर्ने चेतावनी दिएका छन्।

नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयको आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघ र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलमा आज उनले सर्वसाधारणको सम्पत्ति जोगाउने र बैंकको पैसा धेरै मानिससम्म पुर्‍याउनेमा आफ्नो ध्यान रहेको बताए।

ग्राहकलाई समस्यामा पार्ने वा विभिन्न बहानामा ठगी गरेको पाइए सो बैंकलाई बिना कुनै छुट तुरुन्त कारबाही गर्ने उनको भनाइ छ।

धनुषाका व्यापारीहरूले विगतमा बैंकहरूले धितो राखी ऋण लिएका ऋणीहरूलाई विभिन्न जटिल परिस्थिति उत्पन्न गरी धितो लिलाम गरेको गुनासो गरेपछि गभर्नर पौडेलले यस्तो चेतावनी दिएका हुन्।

सो छलफलमा व्यवसायीहरूले ऋण लिन आउने साना व्यापारी तथा किसानलाई बैंकले वास्ता नगर्ने गरेको गुनासो गरेका थिए। छलफलमा बैंकका प्रतिनिधिहरूले मधेश प्रदेशमा ऋण लिएर तिर्न नसक्नेको संख्या धेरै भएको जानकारी दिएका थिए।

धनी र गरिब बीचको आर्थिक खाडल कम गर्नु आफ्नो प्रमुख प्राथमिकता भएको गभर्नर पौडेलको भनाइ छ। 'मौद्रिक नीति वित्त नीतिको मातहतमा हुनुपर्छ। सुपरिवेक्षण क्षमता बढाएर अर्थतन्त्र चलाउनुपर्छ,' उनले भने, 'त्यसैले कम नियम र ज्यादा सुपरिवेक्षणमै मेरो जोड छ।'

बैंकको पैसा सीमित धनी व्यक्तिको हातमा केन्द्रित नभइ साना व्यवसायी र सर्वसाधारणसम्म ऋणका रूपमा पुग्नुपर्ने गभर्नर पौडेलले विचार व्यक्त गरे। 

छलफलमा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले प्रस्तुत सुझावहरूलाई नीति निर्माणमा प्राथमिकताका साथ समावेश गरिने र यस कार्यक्रमले सहयोग पुग्ने उल्लेख गरे।

कार्यक्रममा सहभागी उद्यमीहरूले व्यवसाय सञ्चालनमा भोगिरहेका समस्या, वित्तीय पहुँच र कर्जाको सहजताजस्ता विषयमा आफ्ना विचार राखेका थिए। रासस


प्रकाशित : मंगलबार, असार ३ २०८२१३:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend