बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

वर्षाका कारण विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ३ २०८२
वर्षाका कारण विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका-१ मा रहेको विनयी खोलाको बाढीले डाइभर्सन नै बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।

काठमाडौं- वर्षापछिको बाढीपहिरोका कारण आज विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध भएको छ।

यसका कारण यातायात आवागमन प्रभावित भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।

प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुरको बागमती गाउँपालिका-३ छपेलीमा पहिरो खस्दा आज बिहानैदेखि कान्ति लोकथप सडक अवरुद्ध भएको छ।

यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा तीन ठाउँमा पहिरो खसेर अरनिको राजमार्ग अवरुद्ध भएको छ। भोटेकोशी गाउँपालिका-२ कोदारी, वडा नं ३ लार्चा र वडा नं २ कै कोप्लाङमा पहिरो खसेर सडक अवरुद्ध भएको हो। 

यस्तै नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका-१ मा रहेको विनयी खोलाको बाढीले डाइभर्सन नै बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।  

त्यसैगरी, गुल्मीको कालीगण्डकी गाउँपालिका-६ बर्लबामा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ भने जुम्लाको सिंजामा पहिरो खस्दा बन्द गराएको जुम्ला-मुगु सडक र धनकुटाको साँगुरीगढी गाउँपालिका-५ को रवि-राके-भेडेटार सडक एकतर्फी खुलाइएको छ।

अवरुद्ध रहेका सडक खुलाउने प्रयास जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, असार ३ २०८२१०:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend