काठमाडौं- यो साता आइतबार स्थिर देखिएको सेयर बजार सोमबार पनि अपेक्षाकृत वृद्धितर्फ लाग्न सकेन। उतारचढावबीच लगातारजसो घटिरहेको सेयर बजार साताको पहिलो कारोबारमा आइतबार स्थिर देखिएको थियो। बजार आइतबार ०.४७ अंकले बढेर २६५५.८५ बिन्दुमा पुगेको थियो।
सोमबार २.७९ अंकले बढेर बजार २६५८.६६ बिन्दुमा पुगेको छ। १२४ कम्पनीको सेयर मूल्य बढेको बजारमा १३ अर्ब १८ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ। सोमबार १२४ कम्पनीकै सेयर मूल्य घटेको छ।
गतसाता आइतबार ११.०६ अंकले घटेको बजार सोमबार २३.१९ र मंगलबार २५.०७ अंकले बढेको थियो। बुधबार भने बजार पुन: १३.६९ अंकले घटेको थियो। गतसाता बिहीबार पनि उतारचढावबीच बजार ओरोलोतिरै लाग्दा ९.०८ अंकको गिरावटसहित २६५५.३८ बिन्दुमा ओर्लिएको थियो।
अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा नै देखिन्छ। उतारचढावबाट माथि जानका लागि पुँजी बजारबारे स्पष्ट सोच राजनीतिक नेतृत्वमा पनि आवश्यक पर्ने विश्लेषकहरू बताउँछन्।
गएको वर्ष साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार त्यसयता भने उतारचढावबीच कमजोर अवस्थामा नै बढी रहेको छ। गएको वर्ष असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिँदै ३०००.८१ को बिन्दुसम्म पुगेको थियो। एक वर्षअघिको अवस्थामा बजार पुग्ने आशमा रहेका लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्।
सबै सूचकहरूले साथ दिएकाले अब बजार नयाँ उचाइतर्फ नै बढ्ने विश्लेषकहरूले बताउँदै आइरहेका छन्। अब लगानीकर्ताको भरोसा फर्किएसँगै बजार नयाँ उचाइमा पुग्ने उनीहरूको तर्क छ।
२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९ को बिन्दु पार हुने पर्खाइमा रहेका लगानीकर्ता लामो समयदेखि पर्ख र हेरको अवस्थामा नै छन्। अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरूले बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्।