बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

मुस्ताङमा स्याउ बगैँचाभित्र जौ खेती, किसानलाई दोहोरो आम्दानी

सोमबार, असार २ २०८२
मुस्ताङमा स्याउ बगैँचाभित्र जौ खेती, किसानलाई दोहोरो आम्दानी

मुस्ताङको घरपझोङ गाउँपालिका-४ का किसान अजित थकालीले स्याउ बगैँचाभित्र अन्तरबाली लगाएर मुस्ताङका किसानले दोहोरो आम्दानी लिने गरेको जानकारी दिए।

मुस्ताङ- मुस्ताङका किसानले स्याउको बगैँचाभित्र अन्तरबाली लगाएर दोहोरो आम्दानी लिने गरेका छन्। यहाँका किसानले स्याउ बगैँचाभित्र विभिन्न खाद्यान्न तथा तरकारीबाली उत्पादन गरेर दोहोरो आम्दानी गर्ने गरेको शीतोष्ण बागबानी विकास केन्द्र मार्फाले जनाएको छ।

यहाँको घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाका किसानले स्याउ बगैँचाभित्र विभिन्न खाद्यान्नबाली तथा तरकारीबाली उत्पादन गरी दोहोरो आम्दानी लिने गरेको केन्द्रका प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए। किसानले स्याउ बगैँचाभित्र उवा, जौ, मकै, फापर, आलु, सिमी, बोडी, बन्दा, काउली, गोलभेडा, खुर्सानीलगायतका हरियो सागसब्जी उत्पादन गर्ने प्रचलन रहेको उनले बताए।

जिल्लामा उत्पादन हुने स्याउ पतझड फलफूल हो। असोज/कात्तिकमा बगैँचाबाट स्याउ टिपिसकेपछि पात झरेर फागुन महिनासम्म स्याउको बोट उजाड हुने प्रमुख आत्रेयको भनाइ छ। यसप्रकारका स्याउ बोटमा पात झर्ने भएकाले स्याउ बगैँचामा अन्तरबाली खेती उपयुक्त रहेको प्रमुख आत्रेय बताउँछन्। स्थानीय जातका स्याउ बगैँचामा अन्तरबाली लगाउन मिल्ने भए पनि उच्च घनत्वको हाईब्रिड स्याउ बगैँचामा भने अन्तरबाली लगाउन उपयुक्त नहुने उनको भनाइ छ।

पुरानो  जातको स्याउ बगैँचामा बोटको दुरी ५/६ मिटरको फरकमा हुने भएकाले त्यसको फरकमा विभिन्न खाद्यान्नबाली तथा तरकारीबाली उत्पादन गर्दा राम्रो हुने र यसले किसानलाई पनि दोहोरो फाइदा पुग्ने उनी बताउँछन्। उपयुक्त ढंगले योजनाबद्ध रुपमा स्याउ बगैँचामा अन्तरबाली खेती गर्न सकेमा स्याउको भन्दा दोब्बर तेब्बर आम्दानी गर्न सकिने शीतोष्ण बागबानी विकास केन्द्रका प्रमुख आत्रेयले दाबी गरे।

स्याउको जरालाई असर पर्ने गरी अन्तरबाली लगाउँदा स्याउ बोटलाई क्षति पुर्‍याउन सक्ने र स्याउ बगैँचाभित्र अन्तरबाली लगाउँदा थप मलखादको व्यवस्था र पर्याप्त सिँचाइको सुविधा हुन आवश्यक छ। यसका साथसाथै नियमित रुपमा बगैँचा निरीक्षण गरी रोग कीराको व्यवस्थापनमा पनि विशेष ध्यान दिनुपर्दछ। 

मुस्ताङको घरपझोङ गाउँपालिका-४ का किसान अजित थकालीले स्याउ बगैँचाभित्र अन्तरबाली लगाएर मुस्ताङका किसानले दोहोरो आम्दानी लिने गरेको जानकारी दिए। उनले भने, 'जिल्लामा खेतीयोग्य जमिन एकदमै न्यून छ, किसानले चाहेर पनि कृषि प्रणाली बृहत बनाउन सक्ने अवस्था छैन। उपलब्ध जग्गा उपयोग गरी स्याउ उत्पादनसँगै विभिन्न रैथाने खाद्यबाली र तरकारी लगाउने गरेका छन्।' रासस


प्रकाशित : सोमबार, असार २ २०८२११:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend