शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

पोखराका दुई किसानले बेचे १५ लाख बढीका तरबुजा

शनिबार, जेठ ३१ २०८२
पोखराका दुई किसानले बेचे १५ लाख बढीका तरबुजा

पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनारास्थित तिखेढुङ्गामा दुई किसानले १५ लाख रुपैयाँ भन्दा बढीका तरबुजा बेचेर छिमेकीलाई पनि यो फलको खेतीमा लाग्न प्रेरित गरेका छन्।

गण्डकी- पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनारास्थित तिखेढुङ्गामा दुई किसानले १५ लाख रुपैयाँ भन्दा बढीका तरबुजा बेचेर छिमेकीलाई पनि यो फलको खेतीमा लाग्न प्रेरित गरेका छन्। 

सुरौदीको तिखेढुङ्गामा अगुवा कृषकद्वय रमेश आचार्य र ज्ञानबहादुर कार्कीले ३५ रोपनीमा तरबुजाखेती गरेकाेमा ३० हजार किलोग्राम बिक्री गरेका छन्। प्रतिकूल मौसमका कारण पाँच लाख रुपैयाँ बरबरको  हानि भएको किसान आचार्यले जानकारी दिए। निरन्तरको वर्षाका कारण तरबुजा बिग्रिएका हुन्। 

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजित तरबुजा मेलामा सुरौदीमा फलेको सात किलो ८६० ग्राम तौलको तरबुजा सबैभन्दा ठूलो पहिचानसमेत गरिएको थियो। उक्त तरबुजा फलाए वापत महानगरपालिकाले उनीहरुलाई पाँच हजार रुपैयाँ नगदसहित पुरस्कृत गरेको थियो।

सुरौदीसहित यसवर्ष पोखराका विभिन्न स्थानमा तरबुजाखेतीप्रतिको आकर्षण बढिरहेको पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए। परीक्षणका रूपमा  गरिएको तरबुजाखेती यसवर्ष दुई सय रोपनी क्षेत्रफलमा विस्तार भएको छ। महानगरपालिकाले तरबुजाखेतीका लागि बीउ र मलचिङमा सहयोग गरेको उनले बताए।

पोखरा महानगर क्षेत्रका वडाहरूमध्ये वडा नं १३, २३, ३०, ३२ र ३३ मा यस खेतीप्रति आकर्षण बढिरहेको छ। यसवर्ष पोखरामा करिब चार सय टन ( दुई करोड रुपैयाँ बराबर) को तरबुजा उत्पादन भएको छ। महानगरपालिकाले स्थानीय सरस्वती जातको तरबुजाको ‘ब्रान्डिङ’ र बजारीकरणका लागि स्टीकर तयार गरी प्रदान गरेको शाखा प्रमुख कडरियाले जानकारी दिए।  रासस


प्रकाशित : शनिबार, जेठ ३१ २०८२१७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend