शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

डेढ किलोमिटरमै सीमित तुलसीपुरको चक्रपथ

सोमबार, फागुन २ २०७८
डेढ किलोमिटरमै सीमित तुलसीपुरको चक्रपथ

साविक नगरपालिकाको सबै क्षेत्रलाई छुने गरी करिब ३७ किलोमिटर लामो चक्रपथ निर्माण हुने भने पनि निर्माण प्रक्रिया सुस्त भएको हो।

तुलसीपुर- दाङको तुलसीपुरमा निर्माण हुने भनिएको चक्रपथको काम अघि बढ्न  सकेको छैन। चुनावको समयमा निकै चर्चा पाउने चक्रपथ अहिले भने ओझेलमा परेको छ। एक दशक अघिदेखि निर्माण कार्य सुरु भएको चक्रपथ निर्माणको कार्य डेढ किलोमिटरममा मात्रै सीमित बनेको छ।

तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनीयर पवनकुमार योगीका अनुसार अहिलेसम्म एक  किलोमिटर मात्रै कालोपत्र भएको छ। चक्रपथलाई वैकल्पिक सडकका रुपमा लिइएको थियो। तर हाल बजेट अपर्याप्त हुँदा काम अघि बढ्न नसकेको इञ्जिनीयर योगीले बताए। 

तुलसीपुर उपमहानगरपालिका-७  राजापुरदेखि  रक्षाचौर आँखा अस्पताल-तुलसीपुर ३ डाँडाखुट्टी, तुलसीपुर ८ टिकरी, तुलसीपुर १२ को टरिगाउँ हुँदै राजापुर जोड्ने चक्रपथ निर्माणको रेखाङ्कन गरिएको थियो। यो करिब २९ किलोमिटर लम्बाइ थियो भने ३० मिटर चौडाइ  बनाउने योजना रहेको भए पनि त्यो कामले तीव्रता पाउन सकेको छैन।

इञ्जिनीयर  योगीका अनुसार ती स्थानमा कच्ची ट्र्याक खोलिएको भए पनि पक्की भने  हुनसकेको छैन। 'सबैमा कच्ची ट्र्याक त खोलिएको छ',उनले भने, 'तर पक्की भने  एक किलोमिटर मात्रै छ।' तत्कालीन समयमा काठमाडौँको कन्सल्टेन्सी आरडिसीले सम्भाव्यता अध्ययन गरेको थियो। 

साविक नगरपालिकाको सबै क्षेत्रलाई छुने गरी करिब ३७ किलोमिटर लामो चक्रपथ निर्माण हुने भने पनि निर्माण प्रक्रिया सुस्त भएको हो। उपमहानगरले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा तुलसीपुर चक्रपथ निर्माणका लागि एक करोड ४० लाख, आर्थिक वर्ष २०७८/७९ मा तुलसीपुर चक्रपथ निर्माणलाई निरन्तरता दिन प्रदेश सरकारमार्फत एक करोड ५० लाख बजेट व्यवस्था गरिएको र संघ, प्रदेश सरकारसँग समन्वय गरी तुलसीपुर चक्रपथ निर्माण तथा तुलसीपुर बजार क्षेत्रमा फुटपाथ निर्माणका लागि आवश्यक पर्ने बजेट व्यवस्था गरिएको नीति ल्याएको थियो।

तर स्थानीय सरकारले चक्रपथ निर्माणको काम अघि नबढ्नुमा प्रदेश सरकारलाई दोष दिएको छ। 'प्रदेश सरकार अन्तर्गत क्रमागत योजना अनुसार चक्रपथ निर्माणको लागि हामी लागेका थियौं',उनले भने, 'तर प्रदेश सरकारले त्यो योजना हटाउँदा काम अघि बढ्न सकेन।' 

साविकका नगरपालिका हुँदा १३औँ नगर परिषद्ले चक्रपथ  निर्माणका लागि पारित गरेर काम सुरु गरेको थियो। तुलसीपुर नगरपालिका उपमहानगरपालिका भएर अन्य गाविस पनि गाभिएपछि केही समय यसको काम रोकिएको थियो। तर जनप्रतिनिधि आएपछि चक्रपथ निर्माणको काम सुरु भए पनि त्यसले निरन्तरता पाउन सकेन। रासस


प्रकाशित : सोमबार, फागुन २ २०७८०८:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend