शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

इञ्जिनियर मल्लको लोभलाग्दो मौरीपालन व्यवसाय, राम्रो छ आम्दानी

शुक्रबार, जेठ ३० २०८२
इञ्जिनियर मल्लको लोभलाग्दो मौरीपालन व्यवसाय, राम्रो छ आम्दानी

जंगलको बीच भागमा रहेको फर्ममा चरनका लागि प्रशस्त ठाउँ भएकाले घार सङ्ख्या थप गर्ने तयारी भइरहेको उनले बताए।

स्याङ्जा- यहाँको वालिङ नगरपालिका-५ थुम्कीका दीपेन्द्र मल्लले व्यावसायिकरूपमा मौरीपालन गर्दै आएका छन्।

पेसाले सिभिल इञ्जिनियर मल्लले डेढ वर्षअघि ‘बी इम्पायर’ नामक फर्म दर्ता गरी व्यावसायिक मौरीपालन सुरु गरेका हुन्। इञ्जिनियरिङ पेसासँगसँगै उद्यमशीलताको अभ्यासस्वरुप स्थानीय सेरेना जातको मौरीपालन थालेको उनले बताए।

'वालिङ नगरपालिकामा काम गर्दादेखि मौरीपालनसम्बन्धी आधारभूत ज्ञान पाएको थिएँ', मल्लले भने, 'पछि मौरीपालन गर्दै जाँदा अभ्यासबाट थप ज्ञान प्राप्त भयो, यद्यपि सिक्नेक्रम अझै बाँकी छ।' फर्म दर्तापूर्व नै २० घार मौरीपालन गर्दै आएका मल्लले दर्तापछि भने घारको सङ्ख्या वृद्धि गरी ८० पुर्‍याए। फर्ममा हाल २०० बढी घार रहेका छन्।

जंगलको बीच भागमा रहेको फर्ममा चरनका लागि प्रशस्त ठाउँ भएकाले घार सङ्ख्या थप गर्ने तयारी भइरहेको उनले बताए।

जंगलको मह प्रतिकेजी एक हजार ५ सय र तोरीको मह प्रतिकेजी एक हजार रूपैयाँका दरले बिक्री हुने गरेको मल्लले बताए।

'चालु आर्थिक वर्षमामात्रै फर्मबाट एक हजार केजी मह बिक्री गरेको छु। त्यसबाट १३ लाख रूपैयाँ आम्दानी भयो। यसबाहेक प्रतिफ्रेम मौरीको ८ सय रूपैयाँका दरले र टुनीको घारसहित नौ हजार रूपैयाँका दरले बिक्री गर्ने गरेका छौँ। चालु आवमा ३ सय फ्रेम मौरी बिक्रीबाट दुई लाख ४० हजार रूपैयाँ आम्दानी भएको छ', उनले भने।

फर्मले स्थानीय फर्निचरसित टुनीको घारको सम्झौता गरी घार खरिद गर्ने गरेको छ। इञ्जिनियर मल्लसँगै हाल अन्य दुई जनाले पनि उनलाई साथ दिएका छन्। स्थापनाकालदेखि हालसम्म २५ लाख रूपैयाँ लगानी भएको उनले बताए।

'यस ठाउँमा चरन प्रशस्त छ, मह तथा मौरीजन्य सम्पूर्ण वस्तुहरू सजिलै बिक्री हुन्छ', उनले भने, 'उद्यमशीलताको अभ्यासका लागि र आर्थिक आम्दानीको माध्यमका रूपमा मौरीपालनलाई व्यावसायिकरुपमा अगाडि बढाएको हुँ।' रासस


प्रकाशित : शुक्रबार, जेठ ३० २०८२१७:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend