बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

कास्कीमा नदी तथा खानीजन्य पदार्थको उत्खननमा रोक

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ३० २०८२
कास्कीमा नदी तथा खानीजन्य पदार्थको उत्खननमा रोक

ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड-२०७७ को कानूनी प्रावधानअनुसार सो निर्णय गरिएको हो।

कास्की- कास्कीमा नदी तथा खानीजन्य पदार्थको उत्खनन तथा संकलन तीन महिनाका लागि बन्द हुने भएको छ।

जिल्ला अनुगमन समितिको आजको बैठकले यही असार १ देखि आगामी भदौ मसान्तसम्म नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननमा रोक लगाउने निर्णय गरेको समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख लीलाधर अधिकारीले जानकारी दिए।

ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड-२०७७ को कानूनी प्रावधानअनुसार सो निर्णय गरिएको हो।

सो मापदण्डअनुसार असार, साउन र भदौ महिनामा उत्खनन तथा संकलन कार्य गर्न नपाइने उल्लेख छ। समन्वय प्रमुख अधिकारीले सो निर्णय कडाइका साथ कार्यान्वयन गरिने बताए। विकास निर्माणका काममा बाधा नपुग्ने गरी विद्यमान कानून र मापदण्डको पालना गर्नुको विकल्प नरहेकाले निर्णय कार्यान्वयन गर्न सरोकारवाला सरकारी निकाय र स्थानीय तहलाई आग्रह गरिएको छ ।

'बर्खायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने प्रावधान छ। यसको अवज्ञा गरेमा नूनअनुसार कडा कारबाही हुनेछ।  व्यवसायी, आपूर्तिकर्ता र सरोकारवालासहित आमजनसमुदाय सचेत हुँदै निर्णयको कार्यान्वयन र मापदण्डको पालनामा सरिक हुन आग्रह गरेका छौँ' उनले भने।

बैठकले नदीजन्य पदार्थको मौज्दात आर्थिक वर्षको अन्त्यसम्म शून्य गर्नुपर्ने र सो हुन नसकेमा बाँकी मौज्दात सम्बन्धित पालिकाले जफत गरी लिलाम गर्ने कानूनी व्यवस्थालाई कडाइका साथ लागु गर्न जिल्लाका सम्पूर्ण पालिकालाई अनुरोधसमेत गरेको कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले बताए।

यसैगरी जिल्लामा सञ्चालनमा रहेका खानी, क्रसर तथा प्रशोधन उद्योगले असार मसान्तभित्र आफ्नो उत्पादनको वार्षिक मौज्दात तथा खरिद बिक्रीको परिमाण सार्वजनिक गर्नुपर्ने छ।

साथै सोको जानकारी सम्बन्धित पालिका र अनुगमन समितिलाई दिनुपर्ने व्यवस्थालाई  कडाइका साथ अनुगमन गरिने निर्णय गरिएको छ। रासस


प्रकाशित : शुक्रबार, जेठ ३० २०८२१०:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend