बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

मदिरा तथा सुर्तीजन्य वस्तुको उत्पादनमा नयाँलाई रोक्ने सरकारी नीति, उत्पादन इजाजत दस्तुरमा अधिक वृद्धि

शुक्रबार, जेठ ३० २०८२
मदिरा तथा सुर्तीजन्य वस्तुको उत्पादनमा नयाँलाई रोक्ने सरकारी नीति, उत्पादन इजाजत दस्तुरमा अधिक वृद्धि

बियर उत्पादन गर्ने प्रतिष्ठानका लागि उत्पादन इजाजत दस्तुर २५ लाख रुपैयाँ र नवीकरण दस्तुर २ लाख ५० हजार तोकिएको छ। यसअघि नवीकरण र उत्पादन इजाजत दस्तुर २ लाख ५० हजार रुपैयाँमात्रै थियो।

काठमाडौं- सरकारले मदिरा र सुर्तीजन्य वस्तु उत्पादनको लागि लिँदै आएको इजाजतपत्र दस्तुर अधिक मात्रामा बढाएको छ।

आन्तरिक राजस्व विभागले यसअघि उत्पादन इजाजतपत्र र नवीकरणमा एउटै दस्तुर लिँदै आएको थियो। अहिले अन्त:शुल्क नियमावलीको २७ औँ संशोधनबाट इजाजत दस्तुर र नवीकरण दस्तुर शीर्कषको रकम फरक-फरक बनाएको छ। नवीकरण दस्तुरमा केही परिमार्जन गरिएपनि उत्पादन इजाजत दस्तुरमा ठूलो वृद्धि गरिएको हो।

नियमावली संशोधन गर्दै विद्युतीय चुरोट (भेप) उत्पादन इजाजतका लागि यसअघि ५० हजार रुपैयाँ उत्पादन इजाजत र नवीकरण दस्तुर लगाइएको थियो। त्यसलाई संशोधन गर्दै सरकारले उत्पादन इजाजत दस्तुर २५ लाख रुपैयाँ र नवीकरण दस्तुर २ लाख रुपैयाँ बनाएको छ।

यसैगरी संशोधनमार्फत पानमसला, खैनी, जर्दा, सुर्ती तथा सुर्तीजन्य वस्तु (चुरोटबाहेक) उत्पादनको हकमा उत्पादन इजाजत दस्तुर २० लाख र नवीकरण दस्तुर ३ लाख रुपैयाँ तोकेको छ।

साथै स्प्रिट उत्पादन गर्ने प्रतिष्ठानका लागि यसअघि उत्पादन इजाजत र नवीकरण दस्तुर २ लाख ५० हजार थियो। अहिले संशोधन गरेर उत्पादन इजाजत दस्तुर २५ लाख र नवीकरण दस्तुर २ लाख ५० हजार रुपैयाँ कायम गरिएको छ।

बियर उत्पादन गर्ने प्रतिष्ठानका लागि उत्पादन इजाजत दस्तुर २५ लाख रुपैयाँ र नवीकरण दस्तुर २ लाख ५० हजार तोकिएको छ। यसअघि नवीकरण र उत्पादन इजाजत दस्तुर २ लाख ५० हजार रुपैयाँमात्रै थियो।

यसैगरी इथानोल उत्पादन गर्ने प्रतिष्ठानका लागि उत्पादन इजाजत दस्तुर पनि २५ लाख रुपैयाँ नै तोकिएको छ। यसअघि उत्पादन इजाजत दस्तुर र नवीकरण दस्तुर २ लाख ५० हजार रुपैयाँमात्रै थियो।

वाइन/ब्राण्डी (फलफूलमा आधारित) बनाउने प्रतिष्ठानको उत्पादन इजाजत तथा नवीकरण दस्तुर १ लाख रुपैयाँ रहेकोमा अहिले नियमावली संशोधन गर्दै उत्पादन इजाजतपत्र दस्तुर १० लाख र नवीकरण दस्तुर १ लाख रुपैयाँ नै राखिएको छ।

यसैगरी अन्य मदिरा उत्पादन गर्ने प्रतिष्ठानका लागि उत्पादन इजाजत दस्तुर २५ लाख रुपैयाँ बनाइएको छ। यसअघि उत्पादन इजाजत दस्तुर र नवीकरण दस्तुर २ लाख ५० हजार रुपैयाँमात्रै थियो।

चुरोट उत्पादन गर्ने प्रतिष्ठानका लागि यसअघि उत्पादन इजाजत दस्तुर र नवीकरण दस्तुर ३ लाख रहेकोमा सरकारले अहिले नियमावली संशोधन गर्दै उत्पादन इजाजत दस्तुर ५० लाख रूपैयाँ बनाएको छ। नवीकरण दस्तुर भने ३ लाख नै यथावत राखिएको छ।

यसैगरी नियमावली संशोधनमार्फत स्वदेशी तथा विदेश मदिरा बोतल खोली बिक्री गर्ने क्यासिनोका लागि इजाजत दस्तुर लिन ७५ हजार र नवीकरण दस्तुरका लागि ७५ हजार रुपैयाँ नै तोकिएको छ।

नयाँ ब्रान्डमा पनि थप शुल्क

नियमावली संशोधन गर्दै सरकारले मदिराजन्य तथा सुर्तीजन्य नयाँ ब्रान्डमा समेत उत्पादन इजाजत दस्तुर तोकेको छ। मदिराजन्य उत्पादनको नयाँ ब्राण्ड उत्पादन अनुमतिका लागि ३ लाख रुपैयाँ तोकिएको छ।

यसैगरी चुरोट उत्पादनको नयाँ ब्राण्ड उत्पादन अनुमतिका लागि ५ लाख र चुरोटबाहेकका सुर्तीजन्य वस्तुको उत्पादनको नयाँ ब्रान्ड उत्पादन अनुमतिका लागि १ लाख रुपैयाँ दस्तुर तोकिएको छ।


प्रकाशित : शुक्रबार, जेठ ३० २०८२०७:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend