बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

दुई वर्षदेखि ठप्प हुलाकी सडकको काम अगाडि बढ्यो, ८ महिनाभित्र सक्ने निर्माण कम्पनीको प्रतिबद्धता

बिहीबार , जेठ २९ २०८२
दुई वर्षदेखि ठप्प हुलाकी सडकको काम अगाडि बढ्यो, ८ महिनाभित्र सक्ने निर्माण कम्पनीको प्रतिबद्धता

पश्चिम नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद विनोद चौधरीले हुलाकी सडक निर्माण समयमै पूरा गर्न पहल गरेसँगै काम सुचारु भएको छ।

नवलपरासी- तराई/मधेसको लाइफलाइन मानिने राष्ट्रिय गौरवको आयोजा हुलाकी सडकको काम ८ महिनाभित्र सम्पन्न हुने भएको छ। दुई वर्षदेखि ठप्प रहेको निर्माणको काम द्रुत गतिमा अगाडि बढाउने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१३, नारायणचोकबाट त्रिवेणीसम्मको १४ किलोमिटर हुलाकी सडकको काम चार वर्षमा सम्पन्न गर्नेगरी २०७६ मंसिरमा करिब ५८ करोड ९६ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। तर सडकको प्रगति भने अत्यन्तै सुस्त थियो। निर्माण कम्पनीको लापरबाहीका कारण दुई वर्षदेखि यो सडकण्डको काम ठप्प नै थियो।

सरकारले भुक्तानी नदिएपछि काम अगाडि बढाउन नसकिएको भन्दै ठेकेदार कम्पनीले निर्माणमा ढिलासुस्ती गर्दै आएको थियो। अहिले पश्चिम नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद विनोद चौधरीले हुलाकी सडक निर्माण समयमै पूरा गर्न पहल गरेसँगै काम सुचारु भएको छ। निर्माण पक्षलाई काम अगाडि बढाउन दबाब दिइरहेका उनले भुक्तानीको समस्या समाधान गर्न सरकारसँग पनि ताकेता गर्दै आएका थिए।

hulaki sadak.jpg

सांसद चौधरीले भने, ‘नयाँ ठेकेदार रामु अधिकारीजीले जे समस्या देखाउनुभएको छ, त्यसको निकास निकाल्न हामी सफल भएका छौँ। उहाँले ८ महिनामा काम सक्ने प्रतिबद्धता जनाउनुभएको छ। यो ठूलो उपलब्धि हो।’

hulaki sadak2.jpg

निर्माण व्यवसायी अधिकारीले सांसद चौधरीको पहलपछि हुलाकी सडकको काम सुचारु भएको बताए। उनले भने, ‘माननीयज्यूकै निरन्तरको पहलपछि हामीले काम सुरु गरेका छौँ। मुख्य समस्या भुक्तानीको हो। यसमा माननीयज्यूले व्यक्तिगतरुपमै केही पहल गर्नुभएको छ। उहाँले मन्त्रीदेखि सरोकारवाला सबै पक्षसँग समन्वय र सहजीकरण गरेर हुलाकी सडकखण्डको काम अगाडि बढेको हो।’

hulaki sadak3.jpg

ठेकेदार अधिकारीका अनुसार नारायण चोकदेखि बेलाटारीसम्मको करिब ६ किलोमिटर सडक निर्माणलाई सुरुमा प्राथमिकतामा राखिएको छ। ‘तत्काल तीन चार किलोमिटर सडकमा कालोपत्रे गर्छौँ। केही ठाउँमा रोलिङ गरेर बाटो सम्याउने काम हुन्छ’, उनले भने, ‘सडक नबन्दा पीडित स्थानीय हुनुहुन्छ, उहाँहरु पनि यो बाटो बनाउन आवश्यक सहयोग गर्छौँ भनिरहनुभएको छ, गाउँपालिकाका जनप्रतिनिधिहरुको पनि सहयोग छ।’


प्रकाशित : बिहीबार , जेठ २९ २०८२१२:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend