बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

धार्मिक पर्यटन प्रवर्द्धन गर्न एक करोड २० लाख रूपैयाँ खर्चिएर गुम्बा निर्माण

बिहीबार , जेठ २९ २०८२
धार्मिक पर्यटन प्रवर्द्धन गर्न एक करोड २० लाख रूपैयाँ खर्चिएर गुम्बा निर्माण

यहाँ नजिकैबाट मुन्दुम पदमार्ग विस्तार भएकाले पर्यटन प्रवर्द्धनका लागिसमेत टेवा पुग्ने स्थानीय बताउँछन्।

भोजपुर- षडानन्द नगरपालिका- १० तीनतलेमा ‘साम्तोलिङ’ बौद्ध गुम्बा निर्माण गरिएको छ। बौद्ध संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन क्षेत्रको विकासका लागि यहाँ बौद्ध गुम्बा निर्माण गरिएको हो।

षडानन्द नगरपालिका-१० साम्पाङका वडाध्यक्ष पेमदोर्ची शेर्पाका अनुसार तीनतलेमा केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार र स्थानीयको जनश्रमदानसहित करिब एक करोड २० लाख रूपैयाँ लागतमा गुम्बा निर्माण गरिएको हो।

करिब दुई रोपनी जमिनमा गुम्बासँगै भान्सा, शौचालय, धारालगायतको संरचना निर्माण गरिएको छ। वडाले पाँच लाख रूपैयाँ बजेट विनियोजन गरेर गुम्बाभित्र बौद्ध धर्मसँगसम्बन्धी विभिन्न चित्र तथा आकृति बनाएको वडाध्यक्ष शेर्पाले बताए।

पहिलाको पुरानो गुम्बा २०७२ सालको भूकम्पले जीर्ण बनेपछि वडाको पहलमा नयाँ गुम्बा निर्माण गर्न सफल भएको उनको भनाइ छ। 'हामीले बौद्ध धर्म, संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटनको विकास गर्न गुम्बा निर्माण गरेका छौँ', वडाध्यक्ष शेर्पाले भने, 'यो क्षेत्रमा धेरै बौद्ध धर्मलम्बीको बसोबास छ। भूकम्पले पुरानो गुम्बा जीर्ण हुँदा धेरै समस्या थियो। वडाको धेरै मेहनतपश्चात् यहाँ गुम्बा बनाउन सफल भएका छौँ।'

गुम्बा निर्माणको लागि आफूले दुई रोपनी र स्थानीय निम्छीरी शेर्पाले आठ रोपनी जग्गा निःशुल्क दान गरेको वडाध्यक्ष शेर्पा जानकारी दिए। भूकम्पले जीर्ण बनेको गुम्बाको विकल्पमा नयाँ गुम्बा निर्माण भएपछि उत्साह बढेको स्थानीयवासी फुर्लाक्पा शेर्पाले बताए।

वडाको पहलमा बौद्ध गुम्बा निर्माणले यहाँका एकसय २० बढी बौद्ध धर्म मान्ने समुदायलाई लाभ पुगेको उनको भनाइ छ। गुम्बामा प्रत्येक महिनामा सबैजना भेला भएर पूजाआजा गर्ने चलन रहेको शेर्पाले बताए।

'विगतको कच्ची गुम्बा भूकम्पले जीर्ण बनेको थियो', उनले भने, 'गुम्बा जीर्ण हुँदाभित्र पसेर पूजाआजा गर्न जोखिम थियो। अहिले आवश्यक संरचनासहितको गुम्बा बनेपछि हामीलाई सहजता भएको छ। गाउँका सबैजना भेला भएर एकसाथ पूजा गर्न सकिन्छ।'

नयाँ गुम्बा बनेपछि दर्शन गर्नको लागि विभिन्न ठाउँबाट मानिस आउने गरेको उनले जानकारी दिए। यहाँ नजिकैबाट मुन्दुम पदमार्ग विस्तार भएकाले पर्यटन प्रवर्द्धनका लागिसमेत टेवा पुग्ने शेर्पाले बताए। रासस


प्रकाशित : बिहीबार , जेठ २९ २०८२११:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend