शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

मेहनती पौडेल परिवार : आँगनैभरि मौरीका घार, गोठमा भैँसी र पाडापाडी, बारीमा व्यावसायिक घाँसखेती

बिहीबार , जेठ २९ २०८२
मेहनती पौडेल परिवार : आँगनैभरि मौरीका घार, गोठमा भैँसी र पाडापाडी, बारीमा व्यावसायिक घाँसखेती

बाँदरको आतंकपछि स्थानीयले खेतमा बाली लगाउन छाडेका छन्। त्यसैले पौडेल बाउछोराले १० रोपनी जग्गामा व्यावसायिक बहुवर्षे घाँसखेती पनि गरेका छन्।

बागलुङ- बसाइँसराइले उजाडिएको जैमिनी नगरपालिका-८ को छिस्ती फुर्केसल्ला गाउँ। खण्डहर घर र बाझिएका खेतबारीको बीचमा एउटा मेहनती परिवार छ, जसको कृषि कर्म साँच्चिकै लोभलाग्दो छ। आँगनैभरि मौरीका घार, गोठमा भैँसी र पाडापाडी, बारीमा व्यावसायिक घाँसखेती। यसैबाट गाउँमै सम्भावना खोजिरहेका छन्, रघुनाथ पौडेल।

उमेरले ६२ वर्ष पुगेका पौडेल र उनका ३३ वर्षीय छोरा राजन पौडेल दिनभर गाईभैँसीको स्याहार र दूध व्यवस्थापनमा व्यस्त छन्। गाईभैँसीपालन, तिनको मलबाट व्यावसायिक घाँसखेती गर्दै आएका पौडेल परिवारसँग प्लाष्टिक टर्नेलदेखि तोरी पेल्ने र कुटानी-पिसानी गर्ने मिलसमेत छ।

बाउछोरा मिलेर पाँच वर्षयता दूध र मह उत्पादन गर्दै आएका छन्। गाउँमा बसाइँसराइले बाँदर आतंक भएपछि अन्नबालीसमेत कम उत्पादन हुन थालेको छ। परम्परागत कृषिकर्म गरेर छोराछोरीलाई हुर्काएका रघुनाथ भने छोराकै साथले कृषि र पशुपालन कर्मलाई व्यावसायिक बनाइराखेका छन्।

'गाउँ रित्तियो, सम्पत्ति भएका त सहरबजार सरे, हामी बाउछोरा यही गाउँमा केही गर्नुपर्छ भनेर लागेका छौँ', बुबा रघुनाथले भने, 'हाल ६ वटा मुर्रा भैँसी र तीनवटा गाईपालन गरेका छौँ। आँगनमा ३० वटा मौरीका घार छन्, दुई प्लाष्टिक टनेल, १० रोपनी जग्गामा घाँसखेती र तेल पेल्ने र कुटानी-पिसानी गर्ने मिल छ। यीमध्ये मासिक एक लाख २० हजार त दूध बिक्रीबाटै कमाइन्छ।'

गाईभैँसी र पाडापाडीका लागि आवश्यक अन्न कुट्न र पिस्नका लागि घरमै कुटानी-पिसानी मिल सञ्चालन गरिरहेको उनले सुनाए।

पाँच वर्षअघिसम्म चितवनमा जग्गा भाडामा लिएर माछापालन गर्दै आएका ३३ वर्षीय छोरा राजनलाई गाउँका अन्य युवा जस्तै विदेश हिँड्न मन लागेको छैन, बरु गाउँमै व्यावसायिक कृषक बन्ने सोच आएको छ। बुबाको परम्परागत कृषि र पशुपालनलाई व्यावसायिक बनाउने सोचका साथ काममा खटिएको उनको भनाइ छ।

'हाल दैनिक ४० लिटर दूध बागलुङ बजारमा पठाउँदै आएका छौँ। छिस्ती पाडापाडी तथा भैँसीपालन फार्म स्थापना गरेर कृषि र पशुपालन गर्दै आएका छौँ। यसले पाडापाठीको संरक्षण र आम्दानी दुवै भइहेको छ, यसैमा खुसी छु', राजनले भने। हाल फार्ममा छ पाडी, एक पाडो र दुई गाईका बाच्छा हुर्कँदै गरेका छन्। यी सबै हुर्किए र उत्पादन सुरु भएमा थप व्यवसाय विकासमा योगदान पुग्ने उनको विश्वास छ।

बाँदरको आतंकपछि स्थानीयले खेतमा बाली लगाउन छाडेका छन्। त्यसैले पौडेल बाउछोराले १० रोपनी जग्गामा व्यावसायिक बहुवर्षे घाँसखेती गरेका छन्। यसबाहेक वार्षिक डेढ क्विन्टल मह उत्पादन गरेर बिक्री गर्दा दुई लाख रूपैयाँभन्दा बढी आम्दानी हुने गरेको राजनले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , जेठ २९ २०८२११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend