शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

माधव नेपालको अबुझ भाषण : एमसीसी अगाडि बढाउन सकिँदैन, देश रणभूमि बनाउन हुँदैन

आइतबार, फागुन १ २०७८
माधव नेपालको अबुझ भाषण : एमसीसी अगाडि बढाउन सकिँदैन, देश रणभूमि बनाउन हुँदैन

काठमाडौं- सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अहिलेको अवस्थामा अगाडि बढाउन नसकिने बताएका छन्।

महोत्तरीबाट एकीकृत समाजवादीमा प्रवेश गर्ने नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले आफूहरू असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने हुँदा उक्त परियोजनामा विभिन्न आशङ्का कायमै भएकाले मुलुकलाई कुनै पनि नाममा रणभूमि बनाउन नहुने बताए।

एमसीसी सम्झौतामा ब्याप्त भ्रमका बीच ऊर्जा र सडक पूर्वाधारका लागि महत्वपूर्ण हुने सहयोगलाई 'राष्ट्रवाद'का विषयसँग जोडिएर विवाद भइरहँदा ठूला नेताहरू नै अध्ययनबिना बोलिरहेका छन्। यसमा पछिल्लो पटक अध्यक्ष नेपालले उही शैली अपनाए। 

एमसीसी सम्झौतामा नेपाल सरकारप्रति उत्तरदायी स्वायत्त विकास समिति (एमसीए-नेपाल)ले एमसीसीबारेका भ्रम र यथार्थबारे बारम्बार बताउँदै आइरहेको छ। तर एमसीएको तथ्य जाँच र विषयवस्तुमा भएका कुराको उत्तरभन्दा गलत प्रचारको जरो बढीरहेको छ। त्यसमा शीर्ष नेताहरू नै जोडिने गरेका छन्। 

यस्तोमा अध्यक्ष नेपालले एमसीसीका बारेमा अमेरिकी सेना नेपाल आउने भनि चलिरहेका हल्लालाई प्रश्रय हुने गरी बोलिदिएका छन्। जब कि एमसीसी सम्झौता गैरसैन्य सम्झौता भएको र यसले अमेरिकी कानूनअनुसार एमसीसीको रकम सैन्य सहयोग वा प्रशिक्षण जस्ता कुनै पनि गतिविधिमा प्रयोग नहुने एमसीए नेपालले बताउँदै आइरहेको छ।

समयसीमा नजिक आइरहेका बेला सत्ता साझेदार दलमा एकमत नहुँदा प्रधानमन्त्री शेरबहादुर देउवा निरन्तर छलफलमा केन्द्रित भइरहेका छन्। जहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल जस्तै समाजवादीका अध्यक्ष नेपालले पनि स्पष्ट धारणा बनाउन सकेका छैनन्। 

नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ गते भएको सम्झौता संसदबाट अनुमोदन नभएका कारण कार्यान्वयन हुन सकेको छैन। एमसीसी परियोजनाअन्तर्गत अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर बराबरको पाँच वर्षे अनुदान दिनेछ। त्यसमार्फत ३ सय किलोमिटर लामो प्रसारण लाइन र सडक स्तरोन्नतीको काम हुनेछ।


प्रकाशित : आइतबार, फागुन १ २०७८१३:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend