बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

अन्तरमन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्रीको निर्देशन

बुधबार, जेठ २८ २०८२
अन्तरमन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री विष्णु पौडेलले व्यावहारिक पक्षलाई हेरेर परिणामुखी हिसाबले आगामी आर्थिक वर्षको मासिक र वार्षिक लक्ष्यहरू निर्धारण गर्नुपर्नेमा जोड दिए।

काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तरमन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन कर्मचारीलाई निर्देशन दिएका छन्।

अर्थ मन्त्रालयमा आज आयोजित उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले कानूनको सीमाभित्र रहेर अन्तरमन्त्रालयका कार्यलाई प्राथमिकता दिन कर्मचारीलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

प्राथमिकताका आधारमा कामको सहजीकरण गरेर शीघ्र सम्पन्न गर्ने वातावरण तयार पार्न अर्थमन्त्री पौडेलको निर्देशन थियो। परिणाममुखी अभ्यासमा जान जरुरी रहेको उल्लेख गर्दै उनले निर्धारित लक्ष्य पूरा गर्न अतिरिक्त मेहनतका साथ कार्यसम्पादन गर्न पनि कर्मचारीलाई निर्देशन दिए।

अर्थमन्त्री पौडेलले व्यावहारिक पक्षलाई हेरेर परिणामुखी हिसाबले आगामी आर्थिक वर्षको मासिक र वार्षिक लक्ष्यहरू निर्धारण गर्नुपर्नेमा जोड दिए। आगामी बजेट कार्यान्वयनमा जाँदा कानूनहरू संशोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले सबै मन्त्रालय र निकायसँगको परामर्शमा संशोधनको गृहकार्य गरिने बताए।

बैठकमा अर्थसचिव घनश्याम उपाध्याय र राजस्वसचिव दिनेश घिमिरेले अतिरिक्त मेहनत गरेर राजस्व संकलन र पुँजीगत खर्च वृद्धिमा सहजीकरण गर्न महाशाखा प्रमुख तथा विभागीय प्रमुखहरूलाई आग्रह गरेका थिए। रासस


प्रकाशित : बुधबार, जेठ २८ २०८२१८:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend