बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

यस्ता छन् मन्त्रिपरिषद्को पछिल्ला निर्णयहरु

बुधबार, जेठ २८ २०८२
यस्ता छन् मन्त्रिपरिषद्को पछिल्ला निर्णयहरु

सरकारले कैलालीको लम्कीचुहा अस्पताललाई १५ श्ययाबाट ५० शय्यामा स्तरोन्नति गरी प्रदेश सरकारले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्को बैठकले यही जेठ २६ गते गरेको निर्णय सार्वजनिक गरेका छन्।

सरकारले कैलालीको लम्कीचुहा अस्पताललाई १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति गरी प्रदेश सरकारले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले बताए।

सरकारले २०८२ जेठ ३१ गतेदेखि असार ६ गतेसम्म इजरायलमा आयोजना हुने ‘मुनि वल्र्ड एक्स्पो-२०२५’ मा राष्ट्रिय योजना आयोगका सदस्य डा जयबहादुर टण्डनलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको उनले जानकारी दिए।

आगामी असार १० देखि १२ सम्म चीनको बेइजिङमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको वार्षिक बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

आगामी असार २ गतेदेखि ६ गतेसम्म ल्हासामा आयोजना हुने नेपाल-चीनको सिजाङ (तिब्बत) व्यापार सहजीकरण समितिको १३औँ बैठकको छलफलको एजेण्डा स्वीकृत गर्ने र उल्लिखित बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए।

त्यसैगरी, निर्माण व्यवसायसम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने, नेपाली सेनाका एकजना महासेनानीको सरूवा गर्ने, एकजना सहायक रथीको राजीनामा स्वीकृत गर्ने, चारजना प्रमुख सेनानीहरूको महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने र एकजना रथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय भएको पनि उनले बताए।

मन्त्रिपरिषद्कै निर्णयमा प्राचीन स्मारक संरक्षणसम्बन्धी विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने, शान्तिनगर गाउँपालिका दाङको केन्द्र वडा नं ४ चिराघाटबाट परिवर्तन गरी वडा नं ४ जुम्लेकुला कायम गर्ने, महालक्ष्मी नगरपालिका ललितपुरको केन्द्र वडा नं ४ कमलपोखरीबाट परिवर्तन गरी वडा नं ८ लुभु देवीस्थान कायम गर्ने उल्लेख छ।

नेपाल स्वास्थ्य सेवाको अधिकृत बाह्रौँ तह, अतिरिक्त स्वास्थ्य सचिव पदमा डा केशरबहादुर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई बहुवा गर्ने र नेपाल गुणस्तर (प्रमाण चिह्न) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने सरकारको निर्णय रहेको मन्त्री गुरुङले बताए। रासस


प्रकाशित : बुधबार, जेठ २८ २०८२१४:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend