बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

मंगलबार, जेठ २७ २०८२
म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

उपभोक्ता संस्थाका सचिव धनबहादुर रोकाका अनुसार घरघरमा धारा निर्माण गरेर खानेपानी वितरण गरिएको छ।

म्याग्दी- मालिका गाउँपालिका-३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ। ६५ लाख ५७ हजार दुईसय ७७ रूपैयाँको लागतमा निर्माण भएको पात्ले खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनामार्फत एकसय २२ घरपरिवारमा बसोबास गर्ने पाँचसय ८९ जनसङ्ख्या लाभान्वित भएका छन्।

उपभोक्ता संस्थाका सचिव धनबहादुर रोकाका अनुसार घरघरमा धारा निर्माण गरेर खानेपानी वितरण गरिएको छ। नेपाल पानीका लागि स्वास्थ्य (नेवा) संस्थाको ३३ लाख ३७ हजार ३२५ रूपैयाँ र मालिका गाउँपालिकाको १४ लाख ७२ हजार ५३ रूपैयाँ अनुदान प्राप्त भएको योजना निर्माणका लागि उपभोक्ताले १७ लाख आठसय ९९ रूपैयाँ बराबरको श्रमदान गरेका छन्।

पात्लेमा रहेको सामुदायिक विद्यालयमा पनि धारा जडान भएको छ। चारवटा मुहानको पानीलाई १२ हजार पाँचसय २७ मिटर लामो मुख्य र शाखा पाइपलाइनमार्फत नौवटा ट्यांकी बनाएर वितरणको व्यवस्था मिलाएको नेवाका प्राविधिक रुपक थापाले जानकारी दिए।

म्याग्दीको भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने पात्लेका बासिन्दाले यसअघि सार्वजनिक धारामार्फत खानेपानी उपभोक्ता गर्दै आएका थिए। करिब २० वर्षअघि निर्माण भएको योजनाको संरचना जीर्ण हुँदा पानी आपूर्ति र वितरणमा समस्या भएको थियो।

स्थानीयवासी बलबहादुर रोकाका अनुसार, घरघरमा धारा जडान गरेर पानी वितरण भएपछि समयको बचत, झन्झटबाट मुक्ति, सरसफाइमा सहज भएएपछि उपभोक्तामा खुसीयाली छाएको छ। धाराको नजिकै भाडा सुकाउने पक्की चाङ पनि निर्माण भएको छ। पानीको मितव्ययी प्रयोग र आयोजनाको दिगो सञ्चालनका लागि धारामा मिटर जडान भएको छ।

मालिका गाउँपालिका र नेवा संस्थाको साझेदारीमा आर्थिक वर्ष २०८१/८२ मा मालिका गाउँपालिका-३ मा पात्ले, लुुम्पीपार र डाडागाउँमा तीनवटा योजना निर्माण भएको छ। ती योजनाबाट चारसय घरपरिवार लाभान्वित भएको वडाध्यक्ष मोतिप्रसाद बुढाले बताए। डाडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ, पात्ले र लुम्पीपार टोलमा खानेपानी सुविधा विस्तार भएको उनले बताए। रासस


प्रकाशित : मंगलबार, जेठ २७ २०८२११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend