शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

व्यावसायिक चिराइतोखेतीबाट १२ लाखसम्म आम्दानी लिँदै भोजपुर तीनतलेका किसान

मंगलबार, जेठ २७ २०८२
व्यावसायिक चिराइतोखेतीबाट १२ लाखसम्म आम्दानी लिँदै भोजपुर तीनतलेका किसान

चिराइतोबाट मकै, आलुलगायत बालीको तुलनामा राम्रो आम्दानी हुने भएपछि उनीहरु चिराइतोखेतीमा जुटेका हुन्।

भोजपुर- षडानन्द नगरपालिका-१० तीनतलेका किसान बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा जुटेका छन्। चिराइतोबाट मकै, आलुलगायत बालीको तुलनामा राम्रो आम्दानी हुने भएपछि उनीहरु चिराइतोखेतीमा जुटेका हुन्।

षडानन्द-१० साङपाङका वडाध्यक्ष पेमदोर्ची शेर्पाका अनुसार तीनतले क्षेत्रका एक सयभन्दा २० बढी किसानले चिराइतो, लोठसल्ला, सतुवालगायतको व्यावसायिक खेती गरिरहेका छन्। यहाँका माथिल्लो भेगका किसानको मुख्य आम्दानीको स्रोत चिराइतो रहेको छ। नगरपालिकाको माथिल्लो भेगलाई जडीबुटीको पकेट क्षेत्र घोषणा गरिएको छ।

'चिराइतो तीनतले क्षेत्रका अधिकांश किसानको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको छ, अन्य बालीको तुलनामा जडीबुटी चिराइतोखेतीबाट राम्रो आम्दानी हुने भएपछि किसान व्यावसायिक खेतीमा लागेको देखिन्छ। अहिले हामीले यो क्षेत्रलाई चिराइतो पकेट क्षेत्र घोषणा गरेर जडीबुटी खेतीका लागि प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छौँ', उनले भने।

तीनतले क्षेत्रका किसानले चिराइतो बिक्रीबाट एकपटकमा न्यूनतम एक लाख ५० हजारदेखि १२ लाखसम्म आम्दानी लिने गरेको स्थानीय किसान फुर्लाक्पा शेर्पाले जानकारी दिए। आफूले अहिले २५ रोपनी क्षेत्रमा चिराइतोको व्यावसायिक खेती गरिरहेको उनले बताए। चिराइतो बिक्रीबाट औसतमा वार्षिक चारदेखि सात लाख रूपैयाँसम्म आम्दानी लिने गरेको उनको भनाइ छ। गत वर्ष चिराइतो बिक्रीबाट सात लाख रूपैयाँ आम्दानी गरेको उनले बताए।

उत्पादन भएको चिराइतो घरबाट नै ठेकेदारले लैजाने गरेको स्थानीय अर्का किसान निमा शेर्पाले बताए। गत वर्ष एक मन (४० केजी) चिराइतो घरबाट नै ४० हजारदेखि ४५ हजार रूपैयाँसम्ममा बिक्री भएको उनले जानकारी दिए। राम्रो आम्दानी हुने भएपछि १० वर्षअघिबाट व्यावसायिक रूपमा चिराइतोखेतीमा जुटेको उनको भनाइ छ।

'मैले १० वर्षअघिबाट चिराइतोको व्यावसायिक खेती गरिरहेको छु', उनले भने, 'चिराइतोबाट राम्रो आम्दानी लिँदै पनि आएको छु। बर्सेनि मूल्यवृद्धि भइरहेको आवस्था छ। त्यही भएर धेरै किसान यसको व्यावसायिक खेतीमा लागेका छन्।'

चिराइतो बारीमा छरेको २६ देखि २७ महिनासम्ममा संकलन गर्न योग्य हुने हुन्छ। चिराइतो भदौ, असोज, कात्तिकमा संकलन गरिने शेर्पाले बताए। पछिल्लो समय चिराइतोमा बोट सुक्ने, जरा कुहिने रोगको समस्या देखिन थालेको उनले जानकारी दिए। राज्यको तहबाट रोग कीरा नियन्त्रण सहयोग भएमा किसानले अझ राम्रो आम्दानी सक्ने उनको भनाइ छ।

ज्वरो, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुकालगायत रोगका लागि औषधिको रूपमा चिराइतो प्रयोग गर्न सकिने स्थानीयको भनाइ छ। पात, डाँठ, जरालगायत सम्पूर्ण भाग नै प्रयोग गर्न सकिन्छ। यहाँको चिराइतो भारत, चीन र बंगलादेशमा निर्यात हुने गरेको व्यवसायीको भनाइ छ।

एक हजार पाँचसय मिटरदेखि दुई हजार पाँचसय मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने भएकाले यहाँका माथिल्लो भेगका अधिकांश मानिसले यसको खेती गरिरहेका छन्। लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतोको राम्रो उत्पादन हुँदै आएको छ।

चिराइतो षडानन्द नगरपालिकाको वडा नं १०, ११ र १३ को माथिल्लो भेग, टेम्केमैयुङ -५ मझौले, तिम्मा, दोभाने, हेलौँछा, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत व्यावसायिक खेती हुने गरेको छ। रासस


प्रकाशित : मंगलबार, जेठ २७ २०८२१०:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend