बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

ऋण दिँदा ७४ लाख घुस, नेपाल बैंकका अध्यक्ष चन्द्रबहादुर अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा

घुस दिने बालकृष्ण भुसालसहित तीनवटै परियोजनाका सञ्चालकविरुद्ध पनि मुद्दा

सोमबार, जेठ २६ २०८२
ऋण दिँदा ७४ लाख घुस, नेपाल बैंकका अध्यक्ष चन्द्रबहादुर अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं- बर्खास्तीमा परेका नेपाल बैंकका अध्यक्ष डा चन्द्रबहादुर अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ। ऋण दिँदा विभिन्न कम्पनीबाट घुस लिएको अभियोगमा अधिकारीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो। 

२०८० को असोजमा बैंकको अध्यक्ष नियुक्त भएका अधिकारीले तीनवटा ऋण फाइलबाट ७४ लाख घुस बुझेको अख्तियारको अभियोग रहेको छ। अधिकारीले भुसाल समूहले भैरहवामा निर्माण गर्ने भनेको पाँचतारे होटल र्‍याडिसनको १ अर्ब ७७ करोडको ऋण फाइल सदर गर्ने सर्तमा १९ लाख घुस खाएको अख्तियारको आरोप छ।

यो अभियोगमा अधिकारीसँग १९ लाख नै बिगो दाबी गर्दै मुद्दा दायर भएको छ। घुस घुसको कारोबार गर्ने बिचौलियाको भूमिका खेल्ने खुस नसिब अन्सारीसँग पनि त्यति नै बिगो दाबी गरिएको छ।

त्यस्तै, यो प्रकरणमा घुस दिने मतियार भएको भन्दै भुसाल समूहका अध्यक्ष बालकृष्ण भुसाल र भुसाल समूहकै निर्देशक अमृत भुसालविरुद्ध पनि १९ लाख बिगो दाबी गर्दै मुद्दा दायर भएको छ।

त्यस्तै, हिमाल तराई कन्स्ट्रक्सको ६ करोडको ऋण सहजीकरणका लागि भन्दै अधिकारीले ५ लाख घुस लिएको अभियोग छ। यसमा पनि उनलाई ५ लाख बिगो दाबी गरिएको छ भने कम्पनीका प्रतिनिधि रमेश आचार्यसँग पनि सोही बिगो दाबी गर्दै मुद्दा दायर भएको छ। 

नेपाल बैंकका सञ्चालक समितिका तत्कालीन अध्यक्ष अधिकारीले तनहुँ आबुँखेरेनी-१ मा रहेको अकला देबी ट्रेडर्सको ऋण प्रक्रियामा सहजीकरण गरिदिन्छु भनेर ५० लाख घुस लिएको अभियोगमा पनि मुद्दा दायर भएको छ। 

२५ करोडको ऋणमा उनले ५० लाख घुस बुझेको आरोप छ। घुस लेनदेनमा सहभागीहरू नारायणप्रसाद बराल, दानबहादुर कार्की, सुन्दर बोहरा, सन्तोष सुवेदी र लक्की खान भन्ने खुस नसिन अन्सारीविरुद्ध पनि ५० लाखको बिगो दाबी गर्दै मुद्दा दायर भएको छ। 

अधिकारी २०८० असोजमा नियुक्त भएका थिए। २५ वर्षको प्राध्यापन अनुभव भएका अधिकारी नेपाल बैंकको अध्यक्ष हुनेबित्तिकै घुस आतंक मच्चाएको भन्दै विभिन्न कम्पनीका प्रतिनिधिले अख्तियारमा उजुरी दिएका थिए।


प्रकाशित : सोमबार, जेठ २६ २०८२१८:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend