दाङ- किसान डम्बर बुढाको दैनिकी उखुको जुस बिक्री गरेर बित्ने गरेको छ। विगत आठ वर्षदेखि उखुखेती गर्दै आउएका उनको आम्दानी पनि बढ्दै गएको छ। पछिल्लो समय अत्याधिक गर्मी बढेसँगै यसको व्यापार पनि बढेको हो।
उनले घोराही उपमहानगरपालिका-१७ गैरागाउँमा बिहानैदेखि साँझसम्म उखु पेलेर रस बेच्ने काम गर्दै आएका छन्। रोल्पाको परिवर्तन गाउँपालिका-१ कुरेलीबाट दाङको घोराही उपमहानगरपालिका-६ मा बसाइँ सरेका बुढाले आम्दानी गर्नकै लागि विदेश जानु नपर्ने बताए।
‘हामी धेरै पैसा कमाउन भनी बाहिरी देश जान्छाैँ तर, काम गर्न सके आफ्नै देशमा पनि आम्दानीका प्रशस्त स्रोत रहेका छन्’ उनले भने, ‘आफ्नै ठाउँमा काम गरेर जीविकोपार्जन गर्न सकिन्छ। अवसर खोजी गरेर मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत जति पनि भेटिन्छन्।’
बुढाले गेमी साला भेना उखु फार्ममार्फत आफनो व्यवसाय सञ्चालन गर्दै आएका छन्। उमेरले ४३ वर्ष पुगरेका बुढाले उखुको व्यावसायिक खेती गर्दै आएको क्षेत्र पछिल्लो समय उखुबारी भनेरसमेत परिचित हुँदै गएको छ। उखु व्यवसाय गरेदेखि जीविकोपार्जनको लागि अन्य काम खोज्नु नपरेको उनले सुनाए।
‘आजभोलि गर्मी समय भएकाले बिक्री राम्रो हुने गरेको छ, उखुको जुस बिक्रीमा समस्या छैन’ उनले भने, ‘जुनसुकै पेसा व्यवसायलाई निरन्तरता दिन सकियो भने एक दिन उपलब्धि हासिल गर्न सकिने रहेछ।’ किसान बुढाले तीन बिघा १५ कठ्ठा जग्गा भाडामा लिएर व्यावसायिक रुपमा उखुको खेती गर्दै आएका छन्।
जसको वार्षिकरुपमा तीन लाख भाडा तिर्ने गरेको उनी बताउँछन्। पछिल्लो समय उखुभन्दा पनि उखुको जुस नै आम नागरिकको रोजाइमा पर्ने गरेको छ। ‘बाह्रै महिना नै उखु उत्पादन गरेर जुस पेलेर बेच्ने गरेको छु, जसले गर्दा बिक्री गर्न समस्या छैन, जुनसुकै पेसा व्यवसाय गर्दा समस्या चुनौती छ’ बुढा भन्छन्, ‘जसका कारण आफनो कामलाई निरन्तरता दिँदै जानुपर्ने छ।’
एक गिलास जुसलाई ५० का दरले बिक्री गर्ने गरेको किसान बुढा बताउँछन्। उनले गर्मीको समयमा दैनिक एक सयदेखि दुईसय गिलाससम्म बिक्री गर्दै आएका छन्। उखु खेतीबाट वार्षिक १५ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएको र जसबाट वार्षिकरुपमा ४० प्रतिशत बचत हुने गरेको उनको अनुभव छ। घोराही बजारदेखि नजिक रहेको हुँदा धेरै मानिसलाई यहाँ उखुको जुस पाइन्छ भनेर जानकारी रहेको उनले बताए।
उखुको जुसले स्वास्थ्यलाई समेत फाइदा गर्ने र जण्डिस (अमलपित्त) रोग लागेका व्यक्तिलाई झन् औषधिको काम गर्ने भएकाले सबैले रुचाएका हुन्। घोराही-१७ गैरागाउँ क्षेत्रमा मात्रै सातभन्दा बढी व्यावसायिक उखुखेती गर्ने किसान छन्। साना व्यवसायीलाई पनि स्थानीय सरकारले जीविकोपार्जनमूलक सीप विकास, आर्थिक तथा प्राविधिक सहयोग गरी युवालाई विदेश जानबाट रोक्नुपर्नेमा उनको धारणा रहेको छ। रासस