बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

भत्ताखोलामा तटबन्ध निर्माण, बाढीले गाउँबस्ती डुबानमा पर्ने समस्या हट्यो

सोमबार, जेठ २६ २०८२
भत्ताखोलामा तटबन्ध निर्माण, बाढीले गाउँबस्ती डुबानमा पर्ने समस्या हट्यो

यो तटबन्धनपछि अब वर्षायाममा भत्ताखोला र चुके नाला हुँदै आउने बाढी बस्ती भन्दा बाहिर बसन्ता खोला भएर बग्ने छ।

बाँके- बाँकेको राप्ती सोनारी गाउँपालिका-९ मा हुँदै आएको डुबान र कटानबाट बस्ती जोगाउन लागि भत्ताखोलालाई तटबन्धन गरिएको छ।

गुरुवागाउँ हुँदै ढकेरी बजारसम्मको बस्तीमा प्रत्येक वर्ष डुबान र कटान गर्दै आएको भत्ताखोलाको बाढीलाई नियन्त्रण गर्ने दीर्घकालीन योजनाअन्तर्गत बस्ती भन्दा पर जंगल क्षेत्रबाटै खोलालाई तटबन्धन गरिएको राप्ती सोनारी गाउँपालिका-९ का वडाध्यक्ष सोहनलाल थारुले जानकारी दिए।

'प्रत्येक वर्ष वर्षायाममा ठूलो पानी पर्नासाथ भत्ताखोलामा आउने बाढीले वडाका गाउँबस्तीमा डुबान तथा कटान गर्ने समस्यालाई समाधान गर्न खोलालाई नै तटबन्धन गर्न सफल भएका छौँ,' वडाध्यक्ष थारुले भने, 'अब वर्षायाममा भत्ताखोलाको बाढीले गाउँबस्ती डुबानमा पर्ने समस्या हटेको छ।'

उनका अनुसार, लुम्बिनी प्रदेश सरकारको ५५ लाख रूपैयाँ बजेटमा गुरुवागाउँ नजिकै रहेको आँपखोली सामुदायिक वनमा रहेको चुरे पहाडलाई कटान गरी भत्ता खोलालाई वनक्षेत्रबाटै गरी बसन्ता खोलामा मिलाइएको छ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाँकेले ठेक्कामार्फत तटबन्धन गरिरहेको छ। अब तटबन्धनमा तारजाली र ढुंगा बिछ्याउने काममात्रै बाँकी रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाँकेका प्रमुख आशिष विकले जानकारी दिए।

करिब १८ मिटर अग्लो पहाडलाई कटान गरेर एकसय ८० मिटर लामो तटबन्धन गरिएको छ। विगत चार वर्षदेखि बजेट विनियोजन हुँदै आए पनि विभिन्न कारणले काम हुन नसकेकोमा यस वर्ष बाँके राष्ट्रिय निकुञ्जलगायत सरोकारवाला निकायसँगको समन्वय र सहमतिमा काम सम्पन्न गर्न सकिएको उहाँले जानकारी दिए। 

यो तटबन्धनपछि अब वर्षायाममा भत्ताखोला र चुके नाला हुँदै आउने बाढी बस्ती भन्दा बाहिर बसन्ता खोला भएर बग्ने छ। तटबन्धनले राप्ती सोनारी-९ का गुरुवागाउँ, खड्काटोल, पहाडीपूर्वा, थारुगाउँ,ढकेरी र पम्पबजार डुबान तथा कटानको समस्या समाधान भएको ढकेरी बजार व्यवस्थापन समितिका अध्यक्ष विश्वराज खनालले बताए।

उनले दशकौँदेखिको स्थानीयवासीको चाहना र आवश्यकता अहिले पूरा भएको उल्लेख गर्दै भत्ताखोला डाइभर्सनलाई अब नियमित मर्मत तथा सम्भारमा पनि चासो देखाउनुपर्ने बताए। 

राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले भत्ताखोलाले दिँदै आएको दुःखबाट अब जनताले छुटकारा पाएको बताए। उनले राप्ती सोनारी गाउँपालिकामा भत्ताखोलाजस्तै दर्जनौँ खहरेखोलाले गाउँबस्ती डुबानमापर्ने समस्या समाधान गर्न आफूले पहल गरिरहेको उल्लेख गरे। रासस


प्रकाशित : सोमबार, जेठ २६ २०८२१०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend