बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सदरमुकामकै सडक एक दशकदेखि जीर्ण

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ २६ २०८२
सदरमुकामकै सडक एक दशकदेखि जीर्ण

एक वर्ष अघि सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङमा सडक मर्मतका लागि हारगुहार गर्दै नागरिकको हस्ताक्षरसहित डेलिगेसन पुगे पनि बेवास्ता गरेको अस्पतालका निवर्तमान अध्यक्ष गिरीले बताए।

पर्वत- जिल्ला सदरमुकाम कुश्मा बजारभित्रकै एक सडक विगत १० वर्षदेखि जीर्ण छ। कुश्मा नगरपालिका-५ स्थित बडगाउँको सडक जीर्ण बनेको दशक नाघिसक्दासमेत मर्मतका लागि कसैले चासो दिएका छैनन्। सडक मर्मत हुन नसक्दा जोखिमपूर्ण तवरमा यातायातका साधन सञ्चालन भइरहेका छन्। 

प्रदेश अस्पताल गेटदेखि सशस्त्र प्रहरी बल २५ नम्बर गण चण्डिकासम्मको ५०० मिटर सडक पुनःनिर्माण हुन नसस्दा यात्रु हिँड्न तथा सवारीसाधन सञ्चालन गर्न समस्या हुने गरेको स्थानीय थमनारायण पौडेलले बताए। अस्पताल पुग्ने सडकको अवस्थाप्रति कसैले चासो नदेखाएको उनको भनाइ छ। 

दैनिक ३०० बढी बिरामी उपचारका लागि आउने अस्पताल आसपासको सडक मर्मत तथा पुनःनिर्माणमा कसैले चासो नदिएको अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष शंकर गिरीले बताए।

यही सडक हुँदै पूर्वाधार विकास कार्यालय, सशस्त्र प्रहरी बल, सीप विकास, अनुसन्धान कार्यालय, जिल्ला अदालत, हुलाक, कृषि ज्ञान केन्द्र, खानेपानी, शिक्षा, नापी, मालपोत, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सरकारी वकिलको कार्यालय, पशु विज्ञ केन्द्र, जिल्ला स्वास्थ्यलगायतका कार्यालय जाने आउने सडकको अवस्था जीर्ण छ। 

एक वर्ष अघि सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङमा सडक मर्मतका लागि हारगुहार गर्दै नागरिकको हस्ताक्षरसहित डेलिगेसन पुगे पनि बेवास्ता गरेको अस्पतालका निवर्तमान अध्यक्ष गिरीले बताए।

धुँवाधुलो र भत्किएको सडकका खाल्डोले सवारी दुर्घटना हुनुका साथै सवारीसाधनले ढुंगा उछिट्याउँदा पसलमा क्षति पुग्ने गरेको स्थानीय रमेश श्रेष्ठले बताए। कुश्मा नगरपालिका-५ का वडाध्यक्ष रामहरि शर्माले आफ्नो वडामा आउने बजेटले सडक निर्माण सम्भव नभएको बताए।

पूर्वाधार विकास कार्यालयलाई धेरै पटक मौखिक र लिखित रूपमा बजेट विनियोजनका लागि आग्रह गरे पनि सुनुवाई नभएको उनको गुनासो छ। पूर्वाधार विकास कार्यालय पर्वतले यो वर्ष सडक निर्माण गर्न बजेट नभएकाले सम्भव नरहेको जनाएको छ। सडक निर्माणका लागि आगामी आर्थिक बजेटमा समेटिने गरी योजना प्रस्ताव गरी पठाएको कार्यालय प्रमुख सन्तोष अर्यालले जानकारी दिए। रासस


प्रकाशित : सोमबार, जेठ २६ २०८२१०:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend