शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

मुग्लिन-मलेखु सडक आठ किलोमिटर कालोपत्र

आइतबार, जेठ २५ २०८२
मुग्लिन-मलेखु सडक आठ किलोमिटर कालोपत्र

चितवनतर्फ लेवाटार, कुरिनटार, चुम्लिङ्टार र फिस्लिङ बजार क्षेत्रमा कालोपत्र गरिएको छ। धादिङतर्फ मझिमटार, चरौदी र विशाल टारमा चार लेन सडक कालोपत्र गरिएको छ।

चितवन- मुग्लिन-मलेखु सडकको करिब आठ किलोमिटर भाग कालोपत्र गरिएको छ। थप दुई किलोमिटर कालोपत्र गर्ने तयारी गरिएको छ।

नागढुंगा-मुग्लिन सडक योजना पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार चितवनतर्फ लेवाटार, कुरिनटार, चुम्लिङ्टार र फिस्लिङ बजार क्षेत्रमा कालोपत्र गरिएको छ। धादिङतर्फ मझिमटार, चरौदी र विशाल टारमा चार लेन सडक कालोपत्र गरिएको हो। झन्डै १४ मिटर फराकिलो कालोपत्र गरिएको छ। धादिङको मझिमटार र विशालटारमा झन्डै दुई किलोमिटर क्षेत्र कालोपत्रको तयारी गरिएको छ।

प्रमुख नेपालले भने, 'करिब आठ किलोमिटर क्षेत्र कालोपत्र भएको छ, मौसमले साथ दियो भने थप दुई किलोमिटर कालोपत्र गर्दैछौँ।' अहिलेसम्म ३२ प्रतिशत हाराहारी प्रगति भएको उनले जानकारी दिए। असारसम्ममा चार वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको नेपाल बताउँछन्। ती पुलमा बिम (गडर) राख्नका लागि तयारी गरिएको छ। हेभी उपकरणमार्फत बिम पुलमा चढाउनुपर्ने हुन्छ।

आयोजनाका इञ्जिनियर विजय दरैका अनुसार भारतबाट उपकरण मगाएर काम गर्ने तयारीमा निर्माण कम्पनी रहेको छ। अरु दुईवटा पुलको फाउण्डेसनको काम भइरहेको छ। चितवनतर्फको बारवाङ र मौवा खोला एवं धादिङतर्फको गौमती र खतौटीको पुलमा बिम राख्नका लागि तयारी गरिएको छ भने धादिङतर्फका चरौदी र हुग्दीमा फाउण्डेसनको काम हुँदैछ। 

असार पहिलो साता पुलमा बिम चढाउने तयारीमा आयोजना रहेको छ। बिम चढाउँदा सडक बन्द गर्नुपर्ने दरै बताउँछन्। उपकरण आएपछि स्थानीय प्रशसनसँग समन्वय गरेर काम गर्ने उनले जानकारी दिए।

यो खण्डमा दुई दशमलव दुई किलोमिटर छ लेन सडक बन्नेछ। जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ। चार लेन सडक सात दशमलव दुई किमी हुनेछ। यो रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा हुनेछ। उकालो-ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ लेन पनि बनाइनेछ। जुन दुई दशमलव तीन किलोमिटर हुनेछ। बाँकी सडक ‘डेडिकेटेड’ दुई लेनको हुनेछ।

विसं २०७९ पुस १५ मा तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको हो। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-नागढुंगा सडक खण्डलाई तीन प्याकेज बनाएर बोलपत्र आह्वान गरिएको हो। यो तेस्रो प्याकेजमा पर्दछ। यो प्याकेजमा ३८ दशमलव ८६ किलोमिटर पर्दछ।

शर्मा-जेडआईसीजीले चार अर्ब ८० करोड ५९ लाख रूपैयाँमा सो खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो। सडकका विभिन्न क्षेत्रमा नाला बनाउने, पहिरो रोकथामको काम, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम भइरहेका छन्। यो सडक विश्व बैंकको सहयोगमा बनाइएको हो। रासस


प्रकाशित : आइतबार, जेठ २५ २०८२१६:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend