काठमाडौं- मनसुन नेपाल प्रवेश गरेको १० दिन बितिसक्दा पनि कोशी प्रदेशमा विस्तार हुन सकेको छैन।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी प्रदेशको अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव छ भने देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाब देखिएको छ।
पछिल्लो तीन घन्टामा कोशी र गण्डकी प्रदेशका केही स्थानमा मात्र छिटपुट वर्षा भएको छ।
आइतबार दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा मुख्यतः सफा वा आंशिक बदली रहने अनुमान गरिएको छ।
त्यसैगरी, कोशी प्रदेशका केही स्थान र मधेश प्रदेशसहित अन्य प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम महाशाखाले जनाएको छ।
साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का वर्षा वा हिमपात पनि हुनसक्ने छ। आइतबार राति कोशी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी ठाउँमा मुख्यतः सफा आकाश रहने पूर्वानुमान छ।