शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

किसानका आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’

आइतबार, जेठ २५ २०८२
किसानका आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’

मालिकाकी कालिका किसानले आफ्नो घरमा हुर्काएकी छमहिने बाख्राको पाठी छिमेकी तुलसी सापकोटालाई उपहार दिइन्। उनले बाख्रालाई केवल पशु मानेर हैन, सम्भावनाको बीउ मानेर हुर्काएकी थिइन्।

गलकोट- मालिकाकी कालिका किसानले आफ्नो घरमा हुर्काएकी छमहिने बाख्राको पाठी छिमेकी तुलसी सापकोटालाई उपहार दिइन्। उनले बाख्रालाई केवल पशु मानेर हैन, सम्भावनाको बीउ मानेर हुर्काएकी थिइन्। र, त्यो बीउ अब अर्को महिलाको हातमा पुग्यो-भविष्यको सपना बोकेर।

यो केवल दुई महिलाबीचको सामान्य लेनदेन होइन। यो, आत्मनिर्भर बागलुङ कार्यक्रमअन्तर्गत विकसित हुँदै गएको सामूहिक सशक्तीकरणको एउटा रूप हो। बागलुङ नगरपालिकाले हेफर इन्टरनेसनलको प्राविधिक सहयोग र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको व्यवस्थापनमा सञ्चालित यस अभियानले महिला किसानहरूलाई आत्मनिर्भर बनाउने उद्देश्य राखेको छ।

गत वर्ष कालिकाले नगरपालिका बाट पाएको बाख्राबाट पहिलो पटक जन्मिएको पाठी नै उनले सापकोटालाई दिइन्। यो कार्य उनीहरूको समूहभित्रको नियमअनुसार भएको हो। उपहार स्वरूप दिइएको बाख्राबाट जन्मिने पहिलो पाठी समूहकै अर्को सदस्यलाई दिने। यस्तो अभ्यासले समुदायमा न केवल पशु सम्पत्ति साटासाट गर्ने परम्परा बलियो बनाएको छ, बरु महिलाबीचको सहकार्य र आपसी विश्वासको सम्बन्ध पनि विस्तार गरिरहेको छ।

आत्मनिर्भर बागलुङ कार्यक्रम अहिले नगरपालिकाका १० वडामा सञ्चालनमा छ। कार्यक्रम सुरु भएको दुई वर्षमै २०८ जना महिला बाख्रापालनमार्फत लाभान्वित भएका छन्। मालिकाको पहाडी क्षेत्रजस्ता स्थानमा बाख्रापालनको पुरानो अभ्यासलाई व्यावसायिक बनाउने उद्देश्यसहित नगरपालिकाले यस कार्यक्रमको सुरुवात गरेको हो।

नगरप्रमुख वसन्तकुमार श्रेष्ठ भन्छन्, 'बाख्रा दिनु मात्र उद्देश्य होइन, बाख्रा कसरी पाल्ने, खोर कसरी सुधार्ने र आम्दानीलाई कसरी व्यवस्थापन गर्ने भन्ने सम्पूर्ण ज्ञान प्रदान गर्दैछौं।' उनका अनुसार, महिलालाई बाख्रा दिने मात्र होइन, बाख्रासँगै उद्यमशीलताको बाटो देखाउने प्रयास हो यो।

काठेखोलाको तङ्ग्रामजस्ता ठाउँमा महिलाहरूले यस्तै कार्यक्रमबाट लाखौं रुपैयाँको वार्षिक आम्दानी गरिरहेको उदाहरण पनि छ। नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनकी कार्यक्रम व्यवस्थापक ममिता पुनको भनाइमा, 'ठीक प्रविधि, निरन्तर परामर्श र सहकार्यको माध्यमबाट महिलाहरूलाई केवल आयमुखी हैन, सामूहिक नेतृत्वतर्फ पनि उन्मुख गराउन सकिन्छ।'

बाख्रा उपहार कार्यक्रम साना प्रयास जस्ता देखिए पनि यसको प्रभाव समुदायमा गहिरो छ। महिलाको हातमा पुगेको एउटा पाठी सँगसँगै उनीहरूलाई आत्मविश्वास, सीप र भविष्यप्रतिको भरोसा पनि हस्तान्तरण भएको छ। रासस


प्रकाशित : आइतबार, जेठ २५ २०८२०७:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend