शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

नेपाल डेरी एसोसिएसनलाई रैथाने कृषि हाट बजारमा योगदानका लागि सम्मान

शनिबार, जेठ २४ २०८२
नेपाल डेरी एसोसिएसनलाई रैथाने कृषि हाट बजारमा योगदानका लागि सम्मान

रैथाने कृषि उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले दुई वर्षअघि सुरु गरिएको रैथाने कृषि हाट बजारले १०० औं हप्ता पूरा गरेको अवसरमा नेपाल डेरी एसोसिएसनलाई विशेष सम्मान प्रदान गरिएको छ।

काठमाडौं- रैथाने कृषि उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले दुई वर्षअघि सुरु गरिएको रैथाने कृषि हाट बजारले १०० औं हप्ता पूरा गरेको अवसरमा नेपाल डेरी एसोसिएसनलाई विशेष सम्मान प्रदान गरिएको छ।

काठमाडौं दरबारमार्गस्थित ओरेन्ट क्याफेमा हरेक शनिबार सञ्चालन हुने हाट बजार र ‘गाउँको उत्पादन, शहरमा-रैथाने खाना, घरघरमा’ भन्ने नारासहित सञ्चालनमा आएको कार्यक्रम रैथाने एग्रि प्रडक्टस् नेपालको आयोजनामा गरिएको हो। हाट बजारमा नेपाल डेरी एसोसिएसनले हरेक हप्ता नि:शुल्क मोही वितरण गर्दै आएको छ।

यस योगदानको उच्च मूल्याङ्कन गर्दै आयोजित समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाललाई सम्मान पत्र प्रदान गरे। मन्त्री अधिकारीले मोहीको मौलिकता जोगाउन तथा यसको बजारीकरण र प्रचारप्रसारमा नेपाल डेरी एसोसिएसनले पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताए।

सम्मान ग्रहण गर्दै अध्यक्ष दाहालले मोही जस्तो मौलिक पेय पदार्थप्रतिको जनचेतना अभिवृद्धिका लागि आगामी दिनमा पनि निरन्तर अभियान सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा बागमती प्रदेश अध्यक्ष टीका प्रसाद घिमिरेले मोफसल क्षेत्रका कृषि उपजलाई बजारसम्म ल्याउने काममा हाट बजारले सशक्त माध्यमको भूमिका निर्वाह गरेको बताए। उनले राजधानीका उपभोक्ताले स्थानीय रैथाने उत्पादन सहज रूपमा प्राप्त गर्न थालेको उल्लेख गरे।

समारोहमा कृषि हाट बजारले स्थानीय उत्पादनको प्रवर्द्धनमा पुर्‍याएको योगदान र उपभोक्ता तथा उत्पादकबीचको सीधा सम्पर्कको माध्यम बनेको उल्लेख गर्दै हाट बजारको स्थायित्व र विस्तारको आवश्यकता औंल्याइएको थियो।


प्रकाशित : शनिबार, जेठ २४ २०८२१४:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend