शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

आज १७औँ विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

शनिबार, जेठ २४ २०८२
आज १७औँ विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

नेपालमा भने यस दिवस मनाउने अभ्यास २०६५ सालदेखि सुरु भएको हो। विभागका महानिर्देशक सञ्जीवकुमार कर्णका अनुसार नेपालले खाद्य स्वच्छता दिवसलाई नियमित कार्यक्रमका रूपमा अघि बढाउँदै आएको छ।

काठमाडौं- ‘खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता’ भन्ने नाराका साथ आज नेपालभर १७औँ विश्व खाद्य स्वच्छता दिवस मनाइँदै छ। सन् २०१८ मा संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभाले सन् २०१९ देखि प्रत्येक वर्ष जुन ७ तारिखलाई विश्व खाद्य स्वच्छता दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार विभागले जेठ १८ गतेदेखि २४ गतेसम्म सप्ताहव्यापी विविध कार्यक्रम गरी दिवसको महत्त्वपूर्ण सन्देश प्रवाह गर्दै आएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को तथ्याङ्क अनुसार हरेक वर्ष विश्वभर झाडापखालादेखि क्यान्सरसम्मका २०० भन्दा बढी रोग दूषित तथा अस्वच्छ खाद्य पदार्थका कारण सर्ने गरेका छन्।

प्रत्येक १० जनामध्ये एक जना व्यक्ति विषाक्त खाद्य सेवनबाट बिरामी पर्नुका साथै विश्वमा चार लाख २० हजार जनाको खाद्यजन्य रोगका कारण ज्यान जाने गरेको डब्लुएचओले जनाएको छ। विशेषतः झाडापखालाबाट मात्रै करिब ५५ करोड व्यक्ति बिरामी हुने र दुई लाख ३० हजारको मृत्यु हुने तथ्याङ्क छ।

नेपालमा भने यस दिवस मनाउने अभ्यास २०६५ सालदेखि सुरु भएको हो। विभागका महानिर्देशक सञ्जीवकुमार कर्णका अनुसार नेपालले खाद्य स्वच्छता दिवसलाई नियमित कार्यक्रमका रूपमा अघि बढाउँदै आएको छ।

डब्लुएचओको अध्ययन अनुसार नेपालमा तरकारी र फलफूलमा जीवनाशक विषादीको अवशेष, पशुपन्छीजन्य खाद्य पदार्थमा एण्टिबायोटिकको असर र खाद्यान्नमा ढुसीजन्य विषको समस्या देखिन्छ। यसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने भएकाले वैज्ञानिक पद्धतिबाट खाद्य सुरक्षा सुनिश्चित गर्नु अपरिहार्य भएको विज्ञहरू बताउँछन्।

नेपालको संविधानले हरेक नागरिकका लागि खाद्यसम्बन्धी हक सुनिश्चित गरेको छ। सोही अनुरूप, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ जारी गरिएको छ। यस ऐनमार्फत खाद्य श्रृङ्खलाका सबै चरणमा वैज्ञानिक आधारमा स्वच्छता र गुणस्तर निर्धारण र नियमन गर्न कानुनी व्यवस्था गरिएको छ।

खाद्य स्वच्छता र गुणस्तर ऐनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय, अन्तरराष्ट्रिय साझेदार संस्था, खाद्य उद्योग, उपभोक्ता हकहित सङ्गठनहरूबीच सहकार्य गर्दै दिवस मनाइएको हो। रासस


प्रकाशित : शनिबार, जेठ २४ २०८२०७:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend