शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

भैरहवा भन्सारको सर्भर दुई महिनादेखि डाउन, मारमा परे व्यवसायी

शुक्रबार, जेठ २३ २०८२

भैरहवास्थित भन्सार कार्यालय मुलुककै दोश्रो ठूलो भन्सार नाकाको रुपमा रहेको छ। वार्षिक एक खर्ब रुपैयाँको हाराहारीमा राजस्व असुल गर्ने भैरहवा भन्सार कार्यालयबाट आयत गर्ने उद्योगी व्यवसायीहरु मारमा परेका हुन्।

रुपन्देही- भैरहवा भन्सार कार्यालयको सर्भर डाउन हुँदा भन्सार कर्मचारी, भन्सार एजेन्टका साथै यहाँका उद्योगी व्यवसायी मारमा परेका छन्। करिब दुई महिना अघिदेखि नै भैरहवा भन्सार कार्यालयको सर्भर डाउन भए पनि कार्यालयले यस विषयमा कुनै पहल गरेको छैन। 

भैरहवास्थित भन्सार कार्यालय मुलुककै दोश्रो ठूलो भन्सार नाकाको रुपमा रहेको छ। वार्षिक एक खर्ब रुपैयाँको हाराहारीमा राजस्व असुल गर्ने भैरहवा भन्सार कार्यालयबाट आयत गर्ने उद्योगी व्यवसायीहरु मारमा परेका हुन्।

भन्सार कार्यालयको आशिकुँडा वर्ड सिस्टममा पटकपटक समस्या आउने गरेको कारण समयमा जाँचपास नहुने, उद्योगमा कच्चा पदार्थको अभाव हुने तथा कतिपय समानहरु त कुहिएर जाने गरेको व्यवसायीहरुको गुनासो छ।

भन्सार कार्यालयले प्रयोग गर्ने सफ्टवेयर समयअनुकूल अपग्रेड नगरेको कारण यस्तो समस्या आउने गरेको व्यवसायीहरुको भनाइ छ। 

गाडी भित्रिएपछि भन्सार एजेन्टहरुले त्यसको इन्ट्रि गर्ने हो, त्यहिँदेखि समस्या सुरु हुन्छ। सामान बोकेको सवारी साधनको इन्ट्रि नै हुँदैन, इन्ट्रि भइहाले आईपीएस भुक्तानीमा समस्या देखिन्छ। जेनतेन सबै प्रक्रिया पूरा गर्दा समानको एक्जिटमा समस्या आउँछ। अवस्था कस्तो छ भने भन्सार एजेन्टहरु भन्सार अधिकृतहरुको कार्यकक्ष अगाडि नै बस्नुपर्छ। सर्भर चल्यो भने तत्काल पुग्नुपर्छ, एकै छिनपछि फेरि सर्भर डाउन हुन्छ अनि फेरि बाहिर बसेर कुर्नुपर्छ।

यसले आफूहरू निकै समस्यामा परेको भन्सार एजेन्ट संघ भैरहवाका अध्यक्ष मधु पन्थी बताउँछन्। पटक पटकको सर्भर डाउन हुने समस्याले हैरान भएको उनले बताए। 

भन्सार कार्यालयको सर्भरमा अहिले भन्सार, ईन्टरमोडल, बैंकलगायत यससँग सम्बन्धित ५२ क्षेत्र इन्टरलिंक रहेको र यो केन्द्रदेखि नै खराब भएको नेपाल भन्सार एजेन्ट महासंघका अध्यक्ष प्राचीन थैव बताउँछन्। आशिकुँडा सिस्टम करिब १० वर्ष पुरानो रहेको र यसलाई अपग्रेड गर्नुपर्नेमा त्यसो नभएकोले नै समस्या आएको नेपाल भन्सार एजेन्ट महासंघका अध्यक्ष थैवको भनाइ छ। 

अहिले नयाँ नयाँ प्रविधिको विकास भए पनि त्यसअनुसार भन्सार विभाग अपग्रेड हुन नसकेको आरोप उनले लगाए। यसले गर्दा व्यापारी र भन्सार एजेन्टसँगै कर्मचारीलाई पनि काम गर्न अप्ठ्यारो भएको उनको भनाइ छ।

भैरहवा भन्सारमा सास्ती पाएकै कारण भैरहवा भन्सार हुँदै आयात गर्ने व्यवसायीहरु अहिले अन्यत्रको भन्सार प्रयोग गर्न बाध्य भइरहेका छन्। व्यवसायीहरुले भैरहवा नभइ कृष्णनगर, खुनुवा, महेशपुर लगायतका नाकाहरुबाट आयात गरिरहेको बताए।

भैरहवाका उद्योगी सिद्धार्थ अग्रवालले सर्भर डाउनका कारण व्यवसायीहरूले दैनिक लाखौँ रुपैयाँ जरिवाना तिर्न बाध्य भएको र यसले समग्र अर्थतन्त्रमा नकारात्मक असर पारेको बताए। 

विशेष गरी तयारी पोशाक, इलेक्ट्रोनिक्स सामान, मेसिनरी पार्ट्स तथा दैनिक उपभोग्य वस्तुका आयातकर्ताहरू बढी प्रभावित भएका छन्। उनीहरूका अनुसार समयमै मालसामान बजारमा पुर्‍याउन नसक्दा व्यापारिक चक्र बिथोलिएको छ भने गोदाम खर्चसमेत बढ्दै गएको छ।

भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्र चौधरीले प्राविधिक टोलीले सर्भरको समस्या समाधानका लागि युद्धस्तरमा काम गरिरहेको बताए। यद्यपि, कहिलेसम्म सेवा पूर्णरूपमा सुरु हुन्छ भन्नेबारे स्पष्ट जानकारी दिइएको छैन।

यस किसिमका प्राविधिक समस्याहरू बारम्बार दोहोरिनुले सरकारी निकायको सूचना प्रविधि पूर्वाधारमा सुधारको खाँचो रहेको स्पष्ट पारेको छ। व्यवसायीहरूले दिगो समाधानका लागि भरपर्दो र अत्याधुनिक सर्भर प्रणालीको विकास गर्न सरकारसँग माग गरेका छन्। अन्यथा यसले देशको आयात निर्यात व्यापारमा मात्र नभइ समग्र आर्थिक वृद्धिमा समेत ठूलो धक्का पुग्ने छ। रासस


प्रकाशित : शुक्रबार, जेठ २३ २०८२१५:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend