शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

डेरी व्यवसायको कमाइबाटै बजार क्षेत्रमा ललितले बनाए घर, वार्षिक तीन करोडसम्मको हुन्छ कारोबार

शुक्रबार, जेठ २३ २०८२
डेरी व्यवसायको कमाइबाटै बजार क्षेत्रमा ललितले बनाए घर, वार्षिक तीन करोडसम्मको हुन्छ कारोबार

दुई करोड ५० लाख रूपैयाँ डेरी व्यवसायमा उनले लगानी गरेका छन्। डेरी व्यवसायमा पाँच जनालाई उनले रोजगारी पनि दिएका छन्।

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-१० झलारीका ललित हमालले दुई दशकअघि साइकलमा दूध बेच्न सुरू गर्दा धेरैले उनको निर्णयलाई हल्कासँग लिएका थिए। दूध बेचेर पनि कमाइ हुन्छ र? भनेर अनेक तर्कवितर्क गरिन्थ्यो। तर समयले प्रमाणित गरिदियो, साँचो लगनशीलता र मेहनतले कहिल्यै धोका दिँदैन।

'सुरूमा साथीभाइले हाँसो गरे, परिवारले पनि चिन्ता व्यक्त गरे', ललित भन्छन्, 'म व्यावसायिक कार्य गर्न दृढ थिएँ, मेहनत गर्छु, केही न केही गर्छु भन्ने अठोट लिएर अगाडि बढेँ, यही अठोटले आज दुग्ध व्यवसायीका रूपमा चिनायो।'

सुरूमा गाउँगाउँ घुमेर ललितले ५० लिटर दूध साइकलमा बोकेर महेन्द्रनगर बजारमा लगेर बेच्थे। हाल ललितले झलारी बजारमा डेरी व्यवसाय सुरू गरी दैनिक एक हजार १०० लिटर दूध खपत गर्छन्। दुईसय किसानले ल्याएको दूध उनको डेरीमा खरिद हुने गरेको छ।

दुई करोड ५० लाख रूपैयाँ डेरी व्यवसायमा उनले लगानी गरेका छन्। डेरीबाट दूध, दही बिक्री गर्ने कार्यसँगै लालमोहन, पेँडा, बालमिठाइ, रसबरी, मिल्क केक, लज, लस्सी, मोही, नौनी र घ्यू उत्पादन गरी बिक्री हुने गरेको छ।

वर्षमा तीन करोड रूपैयाँभन्दा बढी डेरी व्यवसायको कारोबार हुने गरेको छ। व्यवसायकै कमाइबाट उनले एक करोड २० लाख रूपैयाँमा बजार क्षेत्रमा तीनतले घर निर्माण गरेका छन्। डेरी व्यवसायमा पाँच जनालाई उनले रोजगारी पनि दिएका छन्।

'सुरूमा व्यवसाय सञ्चालन गर्दा ५० लिटर दूध बिक्री गर्न पनि समस्या हुन्थ्यो, स्थनीय बजारमा खपत हुँदैन्थ्यो', उनले भने, 'महेन्द्रनगर पुर्‍याएर बेच्न थालेपछि खपत बढ्दै गयो, त्यसपछि सय लिटर दूध खरिद गरी बेच्न थालेँ, दूध बिक्री गरेको ३० हजार रूपैयाँ रकमले केही फर्निचर खरिद गरेँ, काउन्टर बनाएँ, भाँडाकुँडा स्थानीयले निःशुल्क दिए, पछि फिर्ता गरेँ।'

निरन्तर व्यवसाय बढ्दै गएको र त्यसपछि चुलोमा दाउरा बालेर दूध तताउने कार्यसँगै मिठाइ बनाउन थालेको उनले बताए। ललितले आम्दानी बढेपछि क्रिम सेप्रेटर मेसिन खरिद गरेँ। फ्रिजको निकै आवश्यक थियो, त्यो पनि खरिद गरेँ। त्यसपछि २०७६ सालमा २० लाख रूपैयाँ पशुपक्षी क्षेत्रीय निर्देशनालयबाट अनुदान रकम पाएपछि व्यवसायलाई अगाडि बढाउन सहज भएको उनी बताउँछन्।

अहिले बैंकबाट ८० लाख रूपैयाँ कर्जा लिएर डेरी मिनी प्लान्ट जडान गरी आधुनिक रूपमा व्यवसाय गर्न थालेको उनले बताए। बैंकबाट लिएको कर्जामध्ये २० लाख रूपैयाँ उनले चुक्ता गरेका छन्। सरकारले पारदर्शीरूपमा सहुलियतपूर्ण रूपमा बैंकबाट कर्जा उपलब्ध गराउने कार्यसँगै विद्युत्, मेसिन र आधुनिक प्रविधिको विकासमा सहुलियत पुर्‍याउनुपर्ने उनी बताउँछन्। प्याकेजिङ, लेबलिङ, स्टोरिङ गर्ने तौरतरिका सिकाउनका लागि तालिम दिनुपर्ने ललितको माग छ।

ललितले झलारी बजारमा मात्र नभएर कैलालीको धनगढीमा पनि डेरी व्यवसाय सञ्चालन गर्दै आएका छन्। उनका माइला दाजुले धनगढीको डेरी पसल सञ्चालन गर्दै आएका छन्। गुणस्तरीय डेरी प्रोडक्ट उपलब्ध गराउँदै आएकाले ग्राहकको विश्वास बढ्दा कारोबार पनि बढ्दै गएको उनी बताउँछन्।

स्थानीय बजारमा नै डेरी सञ्चालन गरी स्वरोजगारको सृजना गर्दै जीवनशैली मात्र नभएर समुदायको धारण बदल्न ललित सफल हुनुभएको वडाध्यक्ष लालबहादुर ऐर बताउँछन्। 'स्वरोजगारमूलक व्यवसायलाई प्रोत्साहित गर्न तयार छौँ', उनले भने, 'डेरी व्यवसाय आत्मनिर्भरताको मेरुदण्डका रूपमा रहेको छ।' रासस


प्रकाशित : शुक्रबार, जेठ २३ २०८२११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend