शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सिर्सिया सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालयमा गाभिँदै

शुक्रबार, जेठ २३ २०८२
सिर्सिया सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालयमा गाभिँदै

सुक्खा बन्दरगाह ५७ बिघा क्षेत्रफलमा फैलिएको छ। विश्व बैंकसँग ८२ करोड रुपैयाँ ऋण लिएर यो बन्दरगाह निर्माण गरिएको हो।

वीरगञ्ज- सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आगामी साउनदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिने भएको छ।

हाल वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भन्सार कार्यालय छ। संघीय सरकारको निर्णयअनुसार यी दुई निकाय गाभिन लागेका हुन्। 

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले साउनदेखि सुक्खा बन्दरगाह कार्यालय वीरगञ्ज भन्सारमा गाभिने जानकारी दिए। 'चालु आर्थिक वर्षको असार मसान्तसम्म दुवै कार्यालयको छुट्टै राजस्वको लक्ष्य र छुट्टै खालको बजेट रहेकाले पनि असार मसान्तपछि मात्रै गाभिनेछ', उनले भने, 'संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) र पददर्ता समेत भइसकेकाले  साउन १ गतेदेखि गाभिनेमा हामी आशावादी छौँ।' 

सुक्खा बन्दरगाह ५७ बिघा क्षेत्रफलमा फैलिएको छ। विश्व बैंकसँग ८२ करोड रुपैयाँ ऋण लिएर यो बन्दरगाह निर्माण गरिएको हो। भारतले २० करोड रुपैयाँ लागतमा रक्सौलदेखि बन्दरगाहसम्म रेल लिंक निर्माण गरेको छ। यहाँ रेलबाट सोझै आयातित सामान ल्याइन्छ।  

सुक्खा बन्दरगाहको व्यवस्थापन इन्टरमोडल यातायात विकास समितिले गरेको छ। नेपाल इन्टरमोडल यातायात विकास समिति र भारतको प्रिष्टिन भ्याली ड्राइपोर्टबीच पाँच वर्षको लागि तीन अर्ब ३३ करोड रुपैयाँमा व्यवस्थापन ठेक्का सम्झौता भएको छ। यो सम्झौता आगामी असार मसान्तमा समाप्त हुँदैछ। 

यसैबीच सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आवको १० महिनामा ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ। 

वीरगञ्ज भन्सार कार्यालय मातहतको सुविधासम्पन्न एकीकृत जाँचचौकी पनि निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ। यो जाँचचौकी ११५ बिघामा फैलिएको छ। पाँच वर्षका लागि टीआरएस हिमालयन लोजी पार्क प्रालिले सञ्चालन तथा व्यवस्थापन गरेबापत समितिलाई पाँच वर्षको एक अर्ब ८० करोड ९० लाख एक हजार २ सय रुपैयाँ पट्टाबहाल बुझाउने सम्झौता छ। रासस


प्रकाशित : शुक्रबार, जेठ २३ २०८२१०:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend