शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

लगानी बोर्डले स्वीकृत गर्‍यो १ खर्ब १७ अर्ब बराबरको लगानी

बिहीबार , जेठ २२ २०८२
लगानी बोर्डले स्वीकृत गर्‍यो १ खर्ब १७ अर्ब बराबरको लगानी

लगानी बोर्डको बैठकले ऊर्जा, यातायात र औद्योगिक पूर्वाधारमा आधारित ठूला परियोजनाहरु अघि बढाउने निर्णय गरेको हो।

काठमाडौं- लगानी बोर्डको ६४औँ बैठकले १ खर्ब १७ अर्ब ४० करोड रूपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।

प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको बैठकले ऊर्जा, यातायात र औद्योगिक पूर्वाधारमा आधारित ठूला परियोजनाहरु अघि बढाउने निर्णय गरेको हो।

बैठकले बझाङको २१६ मेगावाट क्षमताको माथिल्लो सेती जलविद्युत आयोजना, ४४ मेगावाट क्षमताको बकान खोला आयोजना र ४३.२ मेगावाट क्षमताको छिलुङ खोला आयोजना गरी कुल ३०३.२ मेगावाट जडित क्षमताका आयोजना सञ्चालनका लागि ५९ अर्ब ७६ करोड रूपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।

त्यस्तै, ८१ किलोमिटर लम्बाइको मुक्तिनाथ केबलकार परियोजना निर्माणका लागि ५७ अर्ब ६४ करोड रूपैयाँको लगानी स्वीकृत गर्दै कुल लगानी १ खर्ब १७ अर्ब ४० करोड पुगेको हो।

बैठकले माथिल्लो सेती र मुक्तिनाथ केबलकार आयोजना दुवैको परियोजना विकास सम्झौता (पीडीए)का लागि विकासकर्ता कम्पनीहरूसँग आवश्यक शर्तमा वार्ता गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको संयोजकत्वमा अलग-अलग वार्ता समिति गठन गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, सूचना तथा प्रविधि क्षेत्रअन्तर्गत प्रस्तावित आइसीटी पार्क परियोजनालाई ‘अनसोलिसिटेड’ प्रस्तावको रूपमा स्वीकार गर्दै सो परियोजना स्वीस च्यालेन्ज मोडेलमार्फत प्रतिस्पर्धामा लैजाने निर्णय गरिएको छ।

यसैगरी, मधेस प्रदेशको जनकपुरमा प्रस्तावित रिफाइन्ड इन्डीवेल वाइल उद्योगसम्बन्धी निजी लगानी प्रस्तावलाई प्राथमिक अध्ययन गर्न सहमति जनाउँदै त्यसका लागि एक कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकमा भारतको जलविद्युत कम्पनी एनएचपीसी लिमिटेडबाट प्राप्त ८०० मेगावाट क्षमताको पश्चिम सेती जलाशययुक्त आयोजनासम्बन्धी विस्तृत परियोजना प्रतिवेदनबारे जानकारी लिँदै वित्तीय ढाँचा अध्ययन गरी आगामी बैठकमा पेस गर्ने निर्णय गरिएको छ।

यसैबीच, नेपालमा रेलमार्गको पूर्वाधार विकासका लागि कोरियन रेल्वे कर्पोरेशनसँग सहकार्य गर्न तयारी गरिएको छ। बैठकले समझदारीपत्रको मस्यौदा स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषद्‌मा प्रस्ताव पठाउने निर्णय गरेको छ।


प्रकाशित : बिहीबार , जेठ २२ २०८२१७:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend