शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’

बिहीबार , जेठ २२ २०८२
‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’

लोसपाका सांसद शेखरकुमार सिंहले आगामी आव २०८२/८३ को बजेट स्वागतयोग्य रहेको धारणा राखे।

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सन्तुलिन र यथार्थपरक आएको प्रतिक्रिया दिएका छन्।

आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्यवको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा दलीय आधारमा धारणा राख्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद मदनकुमारी शाह (गरिमा) ले आगामी आवको बजेटले विगतका बजेटमा भएका कमीकमजोरी स्वीकार गरेर आएको टिप्पणी गरिन्।

उनले भनिन्, 'कमीकमजोरी स्वीकार गेरपछि तिनको समाधान हुनेगरी बजेट आउनुपर्नेमा त्यसरी भने आएको छैन। संविधानको मूल मर्म र भावना अनुरुप आर्थिक, सामाजिक रुपान्तरण कार्यक्रममार्फत समाजवादी दिशामा अगाडि बढाउने नीतिका साथ बजेट आउनुपर्ने थियो।' परनिर्भर आर्थिक व्यवस्थामा परिवर्तन गर्न सकिएन भने र देश चलाउन आन्तरिक ऋण वृद्धि भइरहेने भन्दै यसले मुलुकको अर्थव्यवस्था संकटमा पर्ने उनको भनाइ छ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद पूजा चौधरीले विगतका सरकारले ल्याएको आर्थिक वर्षको बजेट ठूलो आकारमा हुने तर कार्यान्वयनको कमजोरीका कारण खर्च नहुने गरेको उल्लेख गर्दै बजेट कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औँल्याइन्। उनले भनिन्, 'विश्व अर्थतन्त्र कमजोर भएको वर्तमान अवस्थामा बाहिरी स्रोतमा भर पर्नुभन्दा अधिकतम उपलब्धि प्राप्त हुनेगरी आन्तरिक स्रोतसाधन परिचालन गर्न सरकारसमक्ष निवेदन गर्दछु।'

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद शेखरकुमार सिंहले आगामी आव २०८२/८३ को बजेट स्वागतयोग्य रहेको टिप्पणी गरे। 'यो बजेट महत्वकांक्षी नभइ यर्थातमा आधारित छ, बजेटले कृषि आधुनिकीकरण, भूमि व्यवस्था, उद्योग तथा व्यापार, पर्यटन पूर्वाधार, वन तथा वातावरण, श्रम तथा रोजगारलगायत पक्षलाई समावेश गर्दै निरोगी नेपाल र स्वास्थ्य नेपालीलाई प्राथमिकता दिएको छ', उनले भने।

सरकारले यही जेठ १५ गते १९ खर्ब, ६४ अर्ब ११ करोडको आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्यवको वार्षिक प्रस्तुत गरेको थियो। रासस


प्रकाशित : बिहीबार , जेठ २२ २०८२१६:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend