शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सरकार नै मिलेर हदबन्दीभन्दा बढी जग्गा सस्तोमा किनेर महँगोमा बिक्री, को-कोविरुद्ध दायर भयो मुद्दा?

बिहीबार , जेठ २२ २०८२
सरकार नै मिलेर हदबन्दीभन्दा बढी जग्गा सस्तोमा किनेर महँगोमा बिक्री, को-कोविरुद्ध दायर भयो मुद्दा?

२०६६ माघ १८ गते माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषदले पतञ्जलिलाई काभ्रेमा ८ सय १५ रोपनी जग्गा किन्न छुट दिएको थियो। त्यतिबेला पतञ्जलिले करिब ६ सय रोपनी जग्गा किनेको थियो। कतिपय जग्गा त्यसभन्दा अघि नै खरिद भएको थियो।

काठमाडौं- पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिइ सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप उनीहरुमाथि लागेको छ। नेपाल नेतृत्वको सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषदकै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले अनुसन्धान गरेको हो।

नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको छ। विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ। 

मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारको मुद्दा चलेको नेपालमा यो पहिलोपटक हो। नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पनि यसअघि भ्रष्टाचार मुद्दा दर्ता भएको थिएन। 

भूमिसम्बन्धी ऐन, २०२१ मा कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुने गरी जग्गा राख्ने सुविधाको व्यवस्था छ। तर त्यसरी सुविधामा खरिद गरेको जग्गा बिक्री गर्न पाइँदैन। हदबन्दी छुटमा पाएको जग्गा तत्कालीन सरकारले नै बिक्री गर्न अनुमति दिएपछि प्रश्न उठेको थियो।

२०६६ माघ १८ गते माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषदले पतञ्जलिलाई काभ्रेमा ८ सय १५ रोपनी जग्गा किन्न छुट दिएको थियो। त्यतिबेला पतञ्जलिले करिब ६ सय रोपनी जग्गा किनेको थियो। कतिपय जग्गा त्यसभन्दा अघि नै खरिद भएको थियो। जग्गा किनेको केही महिनामा नै उसले जग्गा बेच्ने निर्णय गरेको थियो।

को कोविरुद्ध दायर भयो मुद्दा?

- पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल

- तत्कालीन कानून तथा न्यायमन्त्री तथा मन्त्रिपरिषद्, विधेयक समितिका तत्कालीन संयोजक प्रेम बहादुर सिंह

- तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री स्व. डम्बर श्रेष्ठ र निजको छोरा सन्तोष श्रेष्ठ

- तत्कालीन मन्त्रिपरिषद्को सचिव (नेपाल सरकारको मुख्यसचिव) स्व. माधव प्रसाद घिमिरे र निजको श्रीमती कमला घिमिरे

- भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त, सहसचिवहरु जीतबहादुर थापा र लालमणि जोशी  

- भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन उपसचिव (कानून) कलानिधी पौडेल,  उपसचिवहरु गान्धी प्रसाद सुवेदी र हुपेन्द्रमणि केसी

- भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक केशर बहादुर बानिँया 

- भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन उपसचिव राजाराम थापा, शाखा अधिकृत सिताराम पोखरेल र नायव सुब्बा वुद्धि बहादुर कार्की

- मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन मालपोत अधिकृत प्रेम बहादुर देसार 

- मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन नायब सुब्बा केदारनाथ भट्टराई  र खरिदार मोहनराम शर्मा

- मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन प्रमुख मालपोत अधिकृत जनार्दन गुरागाईँ, मालपोत अधिकृत वेद प्रसाद अर्याल, शाखा अधिकृत (विशेष) शिवहरी शर्मा सुवेदी, नायब सुब्बाहरु विनोद कोइराला, तुलामणि राजभण्डारी, कृष्ण प्रसाद सापकोटा र खरिदार हरिप्रसाद हुमागाईँ

- गुठी संस्थान, शाखा कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन का.मु कार्यालय प्रमुख कृष्णहरी भट्टराई, वरिष्ठ सहायक पवन आचार्य र फाँटवाला माधव प्रसाद होमागाईँ

- यसैगरी मतियारका रुपमा तत्कालीन सनराईज बैंक लिमिटेडका जुनियर म्यानेजमेन्ट ट्रेनी एशु मैनाली, उप-प्रबन्धक मनोज न्यौपाने, वरिष्ठ सहायक विक्रान्त कोईराला, प्रमुख व्यवस्थापक रविन कुमार नेपाल, सहायक महाप्रबन्धक आशा राणा अधिकारी, जोखिम व्यवस्थापन विभागका प्रमुख संजय कुमार सिद्धी, अनुपालन विभागमा कार्यरत सुनिल रत्न स्थापित र नायब महाप्रबन्धक बलराम विष्ट

- मतियारका रुपमा पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपाल र उक्त कम्पनीका मुख्य भई कामकाज गर्ने संस्थापक सदस्य शालीग्राम सिंह

- मतियारका रुपमा भोज राज शर्मा वाग्ले, जीवन राज कडेल, ध्रुव राज थापा, मनु घिमिरे, ओम प्रकाश वंशल, भिमदत्त जोशी, विरेन्द्रलाल श्रेष्ठ र लक्ष्मण कार्की

- गुप्तराज कोइराला, दामोदर अधिकारी, म्लाङ डोङ तामाङ, नमिता भण्डारी, निर्मला पौडेल, बद्री भक्त नाऐभा, बासुदेव थापा, यादव प्रसाद जोशी, राकेश सुवाल, राजेश त्वायना, राजेश साँद, रोशनी लक्ष्मी तुईतुई, लक्ष्मी केशरी जाकीबन्जार, सुरेन्द्र कुमार कोइराला, शिवहरी थापा, अमित श्रेष्ठ, तुल्सी राम सुवाल, नारायण कृष्ण जोशी, न्हुछे रत्न खाईतु, प्रकाश खाइजु, मिनु सुवाल, विक्रम प्रजापती, शिवनाथ त्वाना बासु, मन्जु कवाँ 

पतञ्जली जग्गा प्रकरण : हदभन्दा बढी जफत गर्नुपर्ने जग्गा धितो राखेर तत्कालीन सनराइज बैंकबाट ऋण पतञ्जली जग्गा प्रकरण : हदभन्दा बढी जफत गर्नुपर्ने जग्गा धितो राखेर तत्कालीन सनराइज बैंकबाट ऋण


प्रकाशित : बिहीबार , जेठ २२ २०८२१४:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend