शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

‘टेक एण्ड पे’ को विषयलाई संशोधन गर्नेगरी छलफल भइरहेको छ : ऊर्जामन्त्री

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ २२ २०८२
‘टेक एण्ड पे’ को विषयलाई संशोधन गर्नेगरी छलफल भइरहेको छ : ऊर्जामन्त्री

ऊर्जामन्त्री खड्काले निजी क्षेत्रलाई सँगै साथमा लिएर हिँड्नेगरी आगामी एक महिनाभित्र विद्युत ऐन ल्याउने तयारीका साथ सरकारले काम गरिरहेको बताए।

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बैँक तथा वित्तीय संस्थाले ‘टेक एण्ड पे’ को विषयलाई लिएर जलविद्युत क्षेत्रमा लगानी नगर्नुपर्ने कुनै कारण नरहेको बताएका छन्।

अपि पावर लिमिटेडको सहायक कम्पनी दार्चूला पावर कम्पनीले दार्चुलामा निर्माण गर्न लागेको मध्य चमेलिया (२८.३ मेवा) जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन समारोहमा बोल्दै उनले बजेटमा राखिएको ‘टेक एण्ड पे’ को विषयलाई लिएर लगानी नगर्नुपर्ने कुनै कारण नभएको बताएका हुन्।

'बजेटमा ‘टेक एण्ड पे’ को शब्दले प्रवेश पाएपछि वित्तिय व्यवस्थापन कसरी होला भन्ने चिन्ता लिनुभएको होला, नआत्तिकन लगानी गर्नुहोस्, उक्त प्रस्ताव ऊर्जा मन्त्रालयको होइन, सो प्रस्तावलाई संशोधन गर्न अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ,' मन्त्री खड्काले भने।

ऊर्जामन्त्री खड्काले सरकारले आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको भन्दै उक्त लक्ष्यलाई पूरा गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए। 'उत्पादन गर्नुपर्ने स्रोत हामीसँग छ, बजार हामीसँग छ, लगानी किन नगर्ने,' उनले भने।

उनले छिमेकी मुलुक भारतसँगै नेपालले पहिलोपटक भारतीय प्रसारण लाइन हुँदै बंगलादेशलाई ४० मेगावाट विद्युत निर्यात थालनी गरेको भन्दै आगामी दिनमा यसलाई झन् बढाउन सकिने बताए। भारतसँग छलफल गरेर बंगलादेशको प्रसारण लाईनपनि विस्तार गर्नेगरी सरकार लागिरहेको उनको भनाइ थियो।

ऊर्जामन्त्री खड्काले निजी क्षेत्रलाई सँगै साथमा लिएर हिँड्नेगरी आगामी एक महिनाभित्र विद्युत ऐन ल्याउने तयारीका साथ सरकारले काम गरिरहेको बताए। ऊर्जा क्षेत्रमा बाधक रहेका कानून र सोचलाई परिवर्तन गर्दै सरकार अगाडि बढ्न चाहेको उनको भनाइ थियो।

मन्त्री खड्काले नेपालमा भएका स्रोतको उच्चतम सदुपयोग गरेर गरिव तथा विपन्न नागरिकलाई समृद्धि बनाउने वाटोमा सरकार लागिरहेको बताए। उनले मध्ये चमेलिया जलविद्युत आयोजनालाई समयमै सम्पन्न गर्न आग्रह गरे।


प्रकाशित : बिहीबार , जेठ २२ २०८२११:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend