शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

कैलालीमा चालु आवको १० महिनामा ५४९ नयाँ उद्योग थपिए

बिहीबार , जेठ २२ २०८२
कैलालीमा चालु आवको १० महिनामा ५४९ नयाँ उद्योग थपिए

चालु आवको सोही अवधिमा स्थानीय व्यापारअन्तर्गत वाणिज्यसम्बन्धी ५ सय ३२ वटा फर्म दर्ता भएका छन्।

कैलाली- जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमा चालु आवको १० महिनामा ५ सय ४९ नयाँ उद्योग दर्ता भएका छन्।

उक्त कार्यालयका सूचना अधिकारी शर्मिला बस्नेतका अनुसार एकसय १२ उत्पादनमूलक, दुईसय चार कृषिमूलक, दुईवटा पर्यटनमूलक, दुईवटा सूचना प्रविधि र २२९ सेवामूलक घरेलु तथा साना उद्योग दर्ता भएका हुन्।

जिल्लामा हालसम्म घरेलु तथा साना उद्योग दर्ताको सङ्ख्या १६ हजार आठ सय ४६ पुगेको छ। दर्ता भएकामध्ये उत्पादनमूलक तीन हजार ५ सय १८, कृषिमूलक सात हजार ३६, निर्माणमूलक दुई, पर्यटनमूलक ६८, सूचना प्रविधका १४ र सेवामूलक ६ हजार २ सय ८ उद्योग रहेका उनले बताइन्।

चालु आवको सोही अवधिमा स्थानीय व्यापारअन्तर्गत वाणिज्यसम्बन्धी ५ सय ३२ वटा फर्म दर्ता भएका छन्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयले २०८० पुस १ गते स्थानीय व्यापारतर्फका हस्तान्तरण गरेका तथा त्यसयता उक्त कार्यालयमा दर्ता भएका गरी वाणिज्यतर्फका फर्मको सङ्ख्या २५ हजार एकसय २७ पुगेका उनले जानकारी दिइन्।

चालु आवमा दुईसय ३६ वटा घरेलु तथा साना उद्योग र वाणिज्यतर्फका तीन सय १४ गरी ५ सय ५० वटा फर्मको लगतकट्टा गरिएको सूचना अधिकारी बस्नेतले जानकारी दिइन्।

कार्यालयले चालु आवको उक्त अवधिमा एक करोड ४६ लाख एक हजार ५ सय ७३ रूपैयाँ राजस्व संकलन गरेको छ। 

महिला,दलित र अपांगता भएका व्यक्तिलाई नयाँ उद्योग दर्ता, नवीकरणमा छुटको व्यवस्था भएकाले पछिल्लो समय उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको उनले बताए। गत आवमा सातसय १४ घरेलु तथा साना उद्योग र वाणिज्यतर्फ तीनसय एक फर्म दर्ता भएका थिए।

गत आवमा एक करोड ७७ लाख ४४ हजार ७ सय ७७ रूपैयाँ राजस्व संकलन गरेको थियो। रासस


प्रकाशित : बिहीबार , जेठ २२ २०८२१०:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend