शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सरकारले तोकेको चैते धानको समर्थन मूल्य किसानले पाएनन्, आधा मूल्य पाउन पनि मुस्किल

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ २२ २०८२
सरकारले तोकेको चैते धानको समर्थन मूल्य किसानले पाएनन्, आधा मूल्य पाउन पनि मुस्किल

पूर्वी चितवनको रत्ननगर, खैरहनी, माडी नगरपालिकासहित भरतपुर महानगरका केही भूभागमा चैते धानखेती हुने गरेको छ।

चितवन-  चैते धानले समर्थन मूल्य नपाउँदा चितवनका किसान चिन्तित भएका छन्। सरकारले चैते धानको समर्थन मूल्य २ हजार ८ सय ७९ तोकेको भए पनि यहाँका किसान १ हजारदेखि १ हजार ८ सय रुपैयाँसम्ममा बेच्न बाध्य भएका छन्।

धान थन्काउने समयमा समर्थन मूल्य नपाएपछि किसान निरास भएका हुन्। खैरहनी नगरपालिकाका-१० का कृष्ण अर्याल चैते धानको समर्थन मूल्य नपाएकामा खिन्न छन्। दुई बिघामा चैते धान लगाएका उनी समर्थन मूल्य नपाएपछि आगामी वर्षदेखि धानखेती नगर्ने निर्णयमा पुगेका छन्। 
 
समर्थन मूल्य नपाएपछि किसानले पालिका र उद्योग वाणिज्य संघका पदाधिकारीसँग छलफल गरिएको उनले बताए।

राप्ती नगरपालिका-५ का धर्मराज कँडेल पनि  धानको मूल्य नपाएपछि निरास छन्। जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्षसमेत रहेका कँडेल धानको समर्थन मूल्य अविलम्ब तोकिनुपर्नेमा जोड दिन्छन्। 
 
पूर्वी चितवनको रत्ननगर, खैरहनी, माडी नगरपालिकासहित भरतपुर महानगरका केही भूभागमा चैते धानखेती हुने गरेको छ। कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले व्यवसायीका कारण किसानले मूल्य नपाएका बताए। स्थानीय व्यवसायी र सरोकार भएकाहरूबीचमा  छलफल जारी रहेको जानकारी दिँदै उहाँले चाँडै निष्कर्ष निस्कने विश्वास व्यक्त गरे। 

चितवनमा यो वर्ष करिब १० हजार हेक्टरमा चैते धानखेती भएको छ। गत वर्ष नौ हजार ५ सय हेक्टरमा चैते धान रोपिएकामा ५९ हजार ५ सय १९ मेट्रिक टन उत्पादन भएको थियो। रासस


प्रकाशित : बिहीबार , जेठ २२ २०८२१०:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend