शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

विपद्‌ जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि तयारी अवस्थामा रहन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

बुधबार, जेठ २१ २०८२
विपद्‌ जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि तयारी अवस्थामा रहन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

'मनसुनजन्य विपद्का लागि आजदेखि तयार हुनुपर्‍यो। समयमै पूर्वसूचना गराउन र उद्धारका लागि तयार अवस्थामा बस्न जरुरी छ', उनले भने।

काठमाडौं- गृहमन्त्री रमेश लेखकले विपद्काे जाेखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन्छ भन्ने मानसिकतामा रहन नेपाल प्रहरीलाई निर्देशन दिएका छन्। बुधबार सामाखुसीस्थित नेपाल प्रहरीकाे विपद् व्यवस्थापन कार्यालयकाे निरीक्षणका क्रममा गृहमन्त्री लेखकले यस्ताे निर्देशन दिएका हुन्। 

'जुनसुकै बेला जेसुकै हुन सक्छ। त्याे मानसिकताका साथ बस्नुपर्छ। मनसुनजन्य विपद्काे पूर्वानुमान हुन्छ। तर, भूकम्प र आगलागीकाे पूर्वानुमान हुँदैन,' उनले भने, 'हामी मनसुनकाे पूर्वसन्ध्यामा छाैँ। मनसुन सक्रिय भएपछि बाढी र पहिराे आउँछ। त्यसकाे पूर्वतयारीमा हामी तयार रहनुपर्छ।'

विपद्काे व्यवस्थापन पनि नेपालकाे जिम्मेवारी दिएको भन्दै चाैबिसै घण्टा तयार रहन गृहमन्त्री लेखकले निर्देशन दिए। 'विपद्काे जाेखिम न्यूनीकरण र व्यवस्थापन नेपाल प्रहरीकाे जिम्मेवारी हाे भनेर कानूनमै उल्लेख छ। नेपाल प्रहरीकाे उपस्थिति नागरिक तहमा विशाल छ। मानिसमा प्रहरीप्रति आशा र भराेसा बढ्दाे छ। विपद्‌मा मानिसले सबैभन्दा पहिला प्रहरी नै खाेज्छ। हामीले जनताको भावनालाई सेवाकाे भावले सम्बाेधन गर्नुपर्छ,' उनले भने।

अहिले बाढीपहिरो र डुबानकाे जाेखिम न्यूनीकरण र व्यवस्थापनकाे तयारी अवस्थामा रहनुपर्ने उनको भनाइ थियाे। 'मनसुनजन्य विपद्का लागि आजदेखि तयार हुनुपर्‍यो। समयमै पूर्वसूचना गराउन र उद्धारका लागि तयार अवस्थामा बस्न जरुरी छ। जेठ २८ गतेबाट मनसुन सक्रिय हुने अनुमान छ,' उनले भने।

यसपटक पहिलेकाे भन्दा नेपाल प्रहरीकाे बजेट बढेकाे भन्दै तलब, पाेसाक, महँगी भत्तामा कुनै समस्या नहुने उनको भनाइ थियाे।

यस्तै, नेपाल प्रहरीकाे ऐन संशोधनका लागि संघीय संसदकाे राज्य व्यवस्था तथा सुशासन समितिमा चाँडै छलफल सुरु हुने गृहमन्त्री लेखकले बताए।


प्रकाशित : बुधबार, जेठ २१ २०८२१८:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend