शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलका रुखबिरुवा तथा पोल हटाउने काम अन्तिम चरणमा, चाँडै निर्माण कार्य सुरु हुने

बुधबार, जेठ २१ २०८२
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलका रुखबिरुवा तथा पोल हटाउने काम अन्तिम चरणमा, चाँडै निर्माण कार्य सुरु हुने

हालसम्म निर्माणस्थलमा भएका एक हजार ५ सय ९३ रुखमध्ये ९ सय ४० वटा रुख कटान भइसकेको छ। चाँडै नै निर्माण कार्य सुरु हुनेछ।

काठमाडौं- राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा रहेको दोधारा चाँदनी एकीकृत जाँचचौकी तथा सुक्खा बन्‍दरगाह निर्माणस्थलमा भएका रुखबिरुवा कटान तथा पोलहरु हटाउने काम अन्तिम चरणमा पुगेको छ।

हालसम्म निर्माणस्थलमा भएका एक हजार ५ सय ९३ रुखमध्ये ९ सय ४० वटा रुख कटान भइसकेको छ। रुखबिरुवा कटानका बाँकी काम असार दोस्रो साताभित्र सम्पन्न हुने जानकारी दिइएको छ। चाँडै नै निर्माण कार्य सुरु हुने आयोजनाले जनाएको छ।

भारतको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने यस परियोजनाका लागि नेपाल र भारतबीच जुन १, २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो। आयोजनाको कुल लागत करिब ३.८० अर्ब नेपाली रूपैयाँ रहेको छ। हाल भारतीय पक्षबाट निर्माण कम्पनी छनौट भइसकेको र चाँडै उक्त निर्माण कम्पनीसँग सम्झौतामा हस्ताक्षर हुने जानकारी दिइएको छ।

अत्याधुनिक सुविधासम्पन्न व्यापार पूर्वाधार सडक, पार्किङ क्षेत्र, प्लेटफर्म, गोदामघर, तौलपुल, कन्टेनर यार्ड, यात्रु टर्मिनल, भन्सार, बैंक, पशुपक्षी/खाद्य प्रयोगशाला (क्वारेन्टाइन) प्रशासनिक भवनलगायतका संरचनासहित निर्माण हुन लागेको यस सुक्खा बन्दरगाह सञ्चालनमा आएपश्चात मुलुकको व्यापार सहजीकरणमा थप टेवा पुग्नुको साथै सुदुरपश्चिमको बृहत्तर पक्षको विकासमा कोशेढुंगा सावित हुने विश्वास लिइएको छ।

त्यसैगरी, सुक्खा बन्दरगाहको निर्माणले आयातमात्र नभएर सुदूरपश्चिमबाट हुने निर्यातलाई पनि प्रवर्द्धन गर्ने यस आयोजनाको उद्देश्य रहेको छ। दोस्रो चरणमा यस बन्दरगाहलाई भारतसँग जोड्ने योजनासमेत रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए।

विगत १५ वर्षदेखि अड्किएर रहेको यस परियोजना पूर्वउद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको सक्रियता एवं समन्वयात्मक भूमिकाले आयोजनाको काम अगाडि बढ्न सफल भएको कार्यकारी निर्देशक गजुरेलको भनाइ छ। साथै, ठेक्का प्रक्रिया पनि सकिएको र रुख व्यवस्थापनको कामसमेत १५ दिनभित्र सकिने हुँदा अबको १ देखि २ महिनाभित्र निर्माणको काम सुरु गर्ने गरी समितिबाट कार्य अघि बढाइएको समेत उनले जानकारी दिए।

परियोजना निर्माणका लागि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१ मा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको राष्ट्रिय वनक्षेत्रको ४२.३६ हेक्टर जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका रुख र पोलहरु हटाउन मन्त्रिपरिषद्‌बाट २०८१ असोज २ मा स्वीकृति मिलेको थियो।

उक्त निर्णय कार्यान्वयन गर्ने सम्बन्धमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल इन्टरमोडल यातायात विकास समितिबीच सोही वर्षको पुस २३ मा द्विपक्षीय सम्झौता भएको थियो। एकीकृत जाँचचौकी निर्माणका लागि संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वनको ४२.३६ हेक्टर जग्गामा भएका १५९३ रुखहरु कटानको लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले माघ २४ मा अनुमति दिएको थियो। समितिले गतवर्षको फागुन १ मा रुख कटानका लागि टेण्डर प्रकाशित गरी छनौट भएको कम्पनीबाट यही बैशाख ८ देखि रुख कटान काम सुरु भएको थियो।


प्रकाशित : बुधबार, जेठ २१ २०८२१७:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend