शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सडक डिभिजन कार्यालय दमौलीद्वारा चालु आवमा १० किलोमिटर सडक कालोपत्र

मंगलबार, जेठ २० २०८२
सडक डिभिजन कार्यालय दमौलीद्वारा चालु आवमा १० किलोमिटर सडक कालोपत्र

कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म १० दशमलव २० किलोमिटर सडक कालोपत्र गरेको हो।

तनहुँ- सडक डिभिजन कार्यालय दमौलीले चालु आर्थिक वर्षमा १० किलोमिटर सडक कालोपत्र गरेको छ। कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म १० दशमलव २० किलोमिटर सडक कालोपत्र गरेको हो।

चालु आर्थिक वर्षमा ३० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको सडक डिभिजन कार्यालयका प्रमुख राजीव श्रेष्ठले जानकारी दिए। उनका अनुसार अधिकांश सडकमा कालोपत्र सम्पन्न हुने अवस्थामा रहेको छ।

कार्यालयले यस अवधिमा पाँच किलोमिटर नयाँ ‘ट्र्याक’ खोल्ने लक्ष्य राखेकामा चार किलोमिटर ट्र्याक खुलेको उनले जानकारी दिए। त्यस्तै, सात दशमलव ५० किलोमिटर ग्राभेल गर्ने लक्ष्य रहेकामा चार किलोमिटर सडक ग्राभेल भइसकेको छ।

तीनवटा मोटरेबल पुल निर्माण गर्ने लक्ष्य रहेकामा हालसम्म पुलको काम सुरु हुन सकेको छैन। जीर्ण ठेक्का रहेका कारण पुलको काम हुन नसकेको श्रेष्ठले बताए। कार्यालयका लागि चालु आर्थिक वर्षमा ८६.१२ करोड बजेट विनियोजन भएकामा हालसम्म ४३ दशमलव ४१ प्रतिशत बजेट खर्च भएको छ। 

कार्यालयले यस अवधिमा सडक बोर्डतर्फका १५, राजमार्ग पुनर्स्थापन तथा स्तरोन्नतितर्फका पाँच, वैकल्पिक सहायक राजमार्गका ४६, निर्वाचन क्षेत्र रणनीतिक सडकतर्फका एकवटा ठेक्का सम्झौता गरी काम सुरु गरेको जनाएको छ।

कार्यालयको कार्यक्षेत्रभित्र छवटा राष्ट्रिय राजमार्ग, तीन स्थानीय सडक पुल र २८ वैकल्पिक सहायक राजमार्ग छन्। कार्यालयका अनुसार राष्ट्रिय राजमार्गतर्फ खैरेनी-भिमाद-कावासोती, भिमाद-रामपुर-मित्याल, आरुङखोला, आँबुखैरेनी-मुग्लिन, आँबुखैरेनी-गोरखा-घ्याम्पेसाल, दमौली-न्यौपानेवेसी-भोर्लेटार र डुम्रे-बन्दीपुर सडक कार्यक्षेत्रभित्र पर्दछ।

त्यसैगरी, स्थानीय सडक पुलतर्फ सेतीगण्डकी, मर्स्याङ्दी नदीमा मोटरवेल पुल, त्रिशूली नदी पुल घुमाउनेघाट कार्यक्षेत्रभित्र पर्ने कार्यालयले जनाएको छ।

यस अवधिमा निर्वाचन क्षेत्र रणनीतिक सडकतर्फ १२ करोड ६५ लाख ४४ हजार १८४, राजमार्ग स्तरोन्नति तथा पुनर्स्थापनतर्फ तीन करोड ६८ लाख २९ हजार ७२९, क्षेत्रीय व्यापारिक मार्ग विस्तार आयोजनातर्फ एक करोड तीन लाख ५३ हजार ९८२, वैकल्पिक सहायक राजमार्ग विकासतर्फ ११ करोड ४५ लाख ४८ हजार ५००, सडक बोर्ड नेपालतर्फ दुई करोड ५१ लाख २४ हजार १२१ खर्च भएको जनाइएको छ। रासस


प्रकाशित : मंगलबार, जेठ २० २०८२१६:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend