शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

‘हिमालयन ट्राभल मार्ट’को पाँचौँ संस्करण : पहिलो दिन ‘माउन्टेन माइलस्टोन र मोमेन्टम’ विषयक सम्मेलन आयोजना

मंगलबार, जेठ २० २०८२
‘हिमालयन ट्राभल मार्ट’को पाँचौँ संस्करण : पहिलो दिन ‘माउन्टेन माइलस्टोन र मोमेन्टम’ विषयक सम्मेलन आयोजना

मार्टमा ३० भन्दा बढी मुलुकका १०० बढी विदेशी पाहुनासहित पर्यटनकर्मी, सरोकारवाला गरी ७ सय प्रतिनिधिको सहभागिता छ।

काठमाडौं- नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट (एचटीएम)’को पाँचौँ संस्करण आजदेखि होटल सोल्टीमा सुरु भएको छ।

नेपाल पर्यटन बोर्डले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल एयरलाइन्सलगायत अन्य प्रमुख पर्यटन संघ, संस्था र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका साझेदार संस्थासँगको सहकार्य यो मार्ट आयोजना गरेको हो।

मार्टमा ३० भन्दा बढी मुलुकका १०० बढी विदेशी पाहुनासहित पर्यटनकर्मी, सरोकारवाला गरी ७ सय प्रतिनिधिको सहभागिता छ। यही जेठ २२ सम्म मार्ट सञ्चालन हुने जनाइएको छ।

सो मार्टअन्तर्गत आज पहिलो दिन ‘माउन्टेन माइलस्टोन र मोमेन्टम’ विषयक सम्मेलन आयोजना गरिएको छ। सो सम्मेलनका वक्ताहरुले पर्यटन उद्योगको विकासका लागि एकीकृत प्रयास र अभ्यासका माध्यमबाट अगाडि बढ्नुपर्नेमा जोड दिए।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालका गन्तव्यलाई विश्वसामु उजागर गर्दै दीगो पर्यटन विकासका लागि मार्ट उपयोगी हुने बताएका छन्। उनले पछिल्लो समय पर्यटनका नयाँ क्षेत्रहरू थपिँदै गएको उल्लेख गरेका छन्।

'करिब ३० वर्षअघि नेपालको ग्रामीण क्षेत्र ७० प्रतिशत थियो, तर अहिले यो अनुपात ५०-५० प्रतिशत भएको छ', सीईओ जोशीले भने, 'हामी जति सहरीकरणतर्फ गइरहेका छौँ, पर्यटन त्यति नै प्रकृतिमा आधारित बन्दै गएको छ।'

सम्मेलनमा पाटाका आजीवन सदस्य एन्ड्रियो जोन, पाटा बंगलादेश च्याप्टरका अध्यक्ष साहिद हमिद, नायिक निशा अधिकारीले आफ्ना धारणा राखेका थिए।

मार्टका संयोजक एवम् पाटाका महासचिव नरेन्द्र देव भट्टले अन्तर्राष्ट्रिय स्रोत बजारमा सशक्त सम्बन्ध सञ्जाल स्थापित गराइ नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले पर्यटन मार्ट आयोजना गरिएको बताए।

सन् २०१७ देखि प्रत्येक वर्षको जुन महिनामा आयोजना हुँदै आएको मार्ट नेपालको प्रमुख अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला हो। कार्यक्रमले विश्वव्यापी पर्यटन र आतिथ्य संस्था, पेसेवर र उद्योगका विविध क्षेत्रमा संलग्न व्यक्तिबीच सम्पर्क सञ्जाल स्थापित गरी व्यावसायिक अवसर प्रदान गर्ने विश्वास गरिएको महासचिव भट्टको भनाइ छ।

मार्टअन्तर्गत सञ्चालित सम्मेलनमा २० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय वक्ताले आध्यात्मिक, साहसिक र ‘लक्जरी’ पर्यटन, दिगो पर्यटन, समकालीन बजार प्रवृत्ति, वर्तमान मुद्दा र पर्यटनका लागि उदीयमान अवसरबारे साझा दृष्टिकोण प्रदान गर्नेछन्।

त्यसैगरी बीटुबी कार्यक्रमअन्तर्गत यसवर्ष मार्टले संयुक्त राज्य अमेरिका, युरोप,अष्ट्रेलिया, दक्षिण अफ्रिका, रसिया तथा सीआईएस राष्ट्रबाट ६० भन्दा बढी क्रेता र नेपाल, भारत, भुटान, चीन, बंगलादेश र श्रीलंका गरी ६ वटा गन्तव्य राष्ट्रबाट सहभागी हुने ६५ बढी बिक्रेता सहभागी हुने बोर्डले जनाएको छ।


प्रकाशित : मंगलबार, जेठ २० २०८२१६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend