शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

भारतबाट बाहिरिने निर्णयमा फोर्डले गर्‍यो पुनर्विचार, अब ईभी उत्पादन गर्ने

शनिबार, माघ २९ २०७८
भारतबाट बाहिरिने निर्णयमा फोर्डले गर्‍यो पुनर्विचार, अब ईभी उत्पादन गर्ने

कम्पनी २०३० सम्म विद्युतीय सवारी र ब्याट्री उत्पादनमा ३० अर्ब डलर लगानी गर्ने बताइसकेको छ। 

काठमाडौं- २०२१ को अन्त्यतिर फोर्ड मोटर्स कम्पनीले अपर्झट भारतबाट बाहिरिने निर्णय गर्‍यो। भारतमा रहेका दुई प्लान्टबाट हुँदै आएको उत्पादन बन्द गर्दै भारतमा बिक्री सञ्जाललाई प्राथमिकता दिने निर्णय फोर्डले गरेकाके थियो। 

फोर्डको उक्त निर्णयले भारतमा मात्र नभइ भारतबाट फोर्डका कार निर्यात हुने देशहरुमा समेत सकारात्मक सन्देश गएको थिएन। फोर्डले भारतीय उत्पादन प्लान्टबाट २ अर्ब डलरभन्दा बढी सञ्चालन घाटा रहेको र विद्युतीय कार उत्पादनमा केन्द्रित हुने भन्दै उक्त निर्णय गरेको थियो। 

भारत छाड्ने घोषणा गरेको करिब ४ महिनापछि फोर्डले आफ्नो निर्णयमा पुनर्विचार गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मेक इन इन्डिया क्याम्पेन अन्तर्गत फोर्डलाई ‘प्रोडक्सन लिंक्ड इन्सेन्टिभ’ सुविधा उपलब्ध गराउने भएपछि भारत छाड्ने पूर्वघोषित निर्णय पुनर्विचार गरेको फोर्डले जनााएको छ। 

फोर्डले भारतका आफ्ना सवारी उत्पादन प्लान्ट बन्द गर्ने घोषणा गत सेप्टेम्बरमा गरेको थियो। भारतमा फोर्डका दुई प्लान्ट रहेको र उक्त घोषणासँगै दुबैबाट उत्पादन बन्द भएको छ। 

अब भने कम्पनीले भारतमा रहेका प्लान्टबाट विद्युतीय सवारी उत्पादन गरेर निर्यात गर्ने सम्भावना देखेको शुक्रबार विज्ञप्तिमार्फत जानकारी गराएको द इकोनोमिक नाइम्सले लेखेको छ। कम्पनीले भारतमा उत्पादन गरेर अन्य मुलुकमा निर्यातका साथै भारतमै बिक्री गर्ने सम्भावना समेत रहेको छ।  

भारतले ठूला उद्योग स्थापना र सञ्चालनमा सहजीकरण गर्न ‘प्रोडक्सन लिंक्ड इन्सेन्टिभ’ नामक प्रोत्साहनको योजना ल्याएको छ। स्वदेशीसहित बहुराष्ट्रिय कम्पनीहरुलाई आकर्षित गर्ने नीति अन्तर्गत केन्द्र सरकारले पाँच वर्षसम्म नगद नै प्रोत्साहन दिने योजना अघि सारेको हो। 

भारतलाई औद्ययोगिक हब बनाउन लक्ष्यका साथ अटोमोबाइल क्षेत्रका लागि ५७ हजार करोड, औषधि र औषधिजन्य उत्पादनका लागि १५ हजार करोड, टेलिकम नेटवर्क र पूर्वाधारमा १२ हजार करोड, टेक्सटायल, खाद्य प्रविधिमा १०/१० हजार करोड भारुको प्रोत्साहन प्याकेज घोषणा सरकारले गरेको छ। 

सरकारको यही योजनाअन्तर्गत आफूले पनि प्रोत्साहन पाउने सम्भावना बढेपछि फोर्डले भारतबाट बाहिरिने निर्णयमा पुनर्विचार गरेको हो। अब फोर्डले गुजरातमा रहेको आफ्नो प्लान्टलाई पुनः प्रयोगमा ल्याउने अनुमान गरिएको छ। तर यसबारे फोर्डले ठोस योजना भने सार्वजनिक गरिसकेको छैन।

फोर्ड मोटर्सले विद्युतीय सवारीमा केन्द्रि हुँदै ठूलो लगानीको घोषणा गरिसकेको छ। कम्पनी २०३० सम्म विद्युतीय सवारी र ब्याट्री उत्पादनमा ३० अर्ब डलर लगानी गर्ने बताइसकेको छ। 


प्रकाशित : शनिबार, माघ २९ २०७८०९:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend