शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

बागमतीमा गेग्रयान हटाउने काम भइरहेको छ : उपप्रधानमन्त्री सिंह

मंगलबार, जेठ २० २०८२
बागमतीमा गेग्रयान हटाउने काम भइरहेको छ : उपप्रधानमन्त्री सिंह

बागमती सभ्यताका आयोजना निर्देशक नारायणप्रसाद भण्डारीका अनुसार नख्खु क्षेत्र, बालकुमारीदेखि मनोहरा दोभानसम्मको क्षेत्रमा गेग्र्यान हटाउने काम भइसकेको छ।

काठमाडौं- उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले बर्सातको मौसममा हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै बागमती नदीमा गेग्रयान हटाउने काम भइरहेको बताएका छन्। उनले सम्भावित जोखिम रहेका ठाउँमा अहिले काम भइरहेको बताए।

बर्सातको पूर्वसन्ध्यामा सहरी विकास मन्त्रालयअन्तर्गत देशभर रहेका स्थानीय सडक, पुल र बेली ब्रिजलगायत पूर्वाधारमा हुनसक्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयको पूर्वतयारीका बारे पूर्वाधार विकास समितिमा बोलाइएको बैठकमा उपप्रधानमन्त्री सिंहले विगतमा भएका घटनाबाट पाठ सिक्दै मन्त्रालयले पूर्वतयारी गरिररहेको बताए।

'विगतका घटनाबाट पाठ सिक्नुपर्छ। नदी समयमा सफा गर्नुपर्छ। उपत्यकामा नदीको बढेको सतह घटाउनुपर्छ भनेर यहाँहरुले जोड दिनुभएको छ। अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदीमा काम सुरु गरिसकेको छ,' उनले भने।

उपप्रधानमन्त्री सिंहले विपद् आउनुअघि नै समितिले ध्यानाकर्षण गराएकामा धन्यवाद व्यक्त गर्दै मौसम पूर्वानुमानको रिपोर्टअनुसार आवश्यक सतर्कता अपनाइने बताए।

बागमती सभ्यताका आयोजना निर्देशक नारायणप्रसाद भण्डारीका अनुसार नख्खु क्षेत्र, बालकुमारीदेखि मनोहरा दोभानसम्मको क्षेत्रमा गेग्र्यान हटाउने काम भइसकेको छ। अहिले बल्खु क्षेत्र, सुन्दरीजलभन्दा तल गोकर्ण क्षेत्र र गुह्येश्वरी क्षेत्रमा नदीबाट गेग्र्यान हटाउने काम भइरहेको छ।

समितिमा सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले स्थानीय सडक र पुलमा भइपरि आउने विपद्का लागि आवश्यक सतर्कता अपनाइएको बताए। उनले विपद् हेर्नेगरी प्रदेश र जिल्लामा रहेका मातहतका कार्यालयमा ‘फोकल पर्सन’ तोकेर काम भइरहेको जानकारी दिए। सचिव सिग्देलले अघिल्लो वर्षको बाढीबाट क्षति पुगेका १० झोलुंगे पुल निर्माण कार्य सकिएको बताए। रासस


प्रकाशित : मंगलबार, जेठ २० २०८२१५:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend