शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

डायल एक्सिलेटर ‘डेमो डे’मा कृषकलाई सघाउने ७ परियोजना

सोमबार, जेठ १९ २०८२
डायल एक्सिलेटर ‘डेमो डे’मा कृषकलाई सघाउने ७ परियोजना

कार्यक्रममा ‘दैलो कृषि’ ले प्रविधिको प्रयोगमार्फत् किसानबाट स्थानीय रूपमा उत्पादित कृषि सामग्री उपभोक्ताको घरदैलोमा पुर्‍याउने योजना प्रस्तुत गरिएको थियो।

ललितपुर - ‘डायल एक्सिलेटर: डिजिटल इनोभेसन इन एग्रिकल्चर एन्ड लजिस्टिक’ मा कृषकलाई सघाउने  ७ कम्पनीका परियोजनाहरूले सोमबार आफ्नो मोडल प्रस्तुत गरेका छन्।स्विस सरकारको विकास सहयोगसँग मिलेर आद्यन्त फन्ड म्यानेजमेन्टले कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा ‘दैलो कृषि’, ‘आर एन्ड डी सोलुसन्स’, ‘एग्रीबाटो’, ‘डा फिस’, ‘पिक एन्ड ड्रप’, ‘थोप्लो मेसिन’ र ‘प्लान्ट स्याट’ जस्ता कम्पनीहरूले कृषि तथा आपूर्ति क्षेत्रमा प्रविधिको प्रयोगमार्फत् कृषकहरूलाई सहयोग गर्ने परियोजनाहरूको प्रस्तुति दिएका थिए।

यी सातवटै कम्पनीलाई विगत केही महिनादेखि मार्गनिर्देशन तथा तालिम प्रदान गरिएको थियो। डायल कार्यक्रममा सहभागी कम्पनीका प्रतिनिधिहरूले आफ्ना योजनाका सम्भावना र आवश्यक लगानीबारे जानकारी दिएका थिए।

कार्यक्रममा ‘दैलो कृषि’ ले प्रविधिको प्रयोगमार्फत् किसानबाट स्थानीय रूपमा उत्पादित कृषि सामग्री उपभोक्ताको घरदैलोमा पुर्‍याउने योजना प्रस्तुत गरिएको थियो। 

‘आर एन्ड डी सोलुसन्सले ‘एग्री नेपाल’ एपमार्फत “माटोदेखि बजारसम्म” भन्ने नाराका साथ कृषि उत्पादनको प्रवर्द्धन गर्ने,  ‘एग्रीबाटो’ले किसानलाई थोक व्यापारीसँग जोड्ने एप, ‘डा. फिस’ले माछापालक किसानका लागि पानीको गुणस्तर मापन र माछामा लाग्न सक्ने सम्भावित रोग पहिचान गर्न सहयोग गर्ने उपकरण प्रस्तुत गरेको थियो। 

पाँच वर्षदेखि कृषि आपूर्ति क्षेत्रमा सक्रिय ‘पिक एन्ड ड्रप’ले सामाजिक सञ्जालमा आउने अर्डरलाई अटोमेसन प्रविधिमार्फत आफ्नो सिस्टममा समाहित गर्ने प्रविधि,  ‘थोप्लो मेशिन’ले स्मार्ट ग्राफ्टिङ प्रणाली र सिँचाइ नियन्त्रक प्रणालीसहित अंकुरण तथा कलमी गर्ने स्वचालित प्रणाली, ‘प्लान्ट स्याट’ले  स्याटेलाइटमार्फत् कृषिबालीको अवस्थाबारे जानकारी दिने प्रविधिको प्रस्तुति दिएको थियो। 

कार्यक्रमपछि बोल्दै स्विस सरकारको विकास सहयोग प्रतिनिधि सिसिल रिभेराले कृषिमा सिर्जनशीलतानवप्रवर्तनमा स्विट्जरल्यान्ड सँधै साथ दिँदै आएको बताइन्।

सातमध्ये उत्कृष्ट हुने एक कम्पनीले आफ्नो परियोजनाका लागि ६० प्रतिशत अनुदान पाउनेछ भने ४० प्रतिशत लगानी आफैले जुटाउनुपर्नेछ ।


प्रकाशित : सोमबार, जेठ १९ २०८२१९:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend