काठमाडौं- देशभर छरिएर रहेका डिजिटल सामग्री निर्माता अर्थात् क्रिएटर्सलाई एउटै मंचमा ल्याउने उद्देश्यसहित एनसेलले ‘लीग अफ क्रिएटर्स’ अभियान सुरु गरेको छ। ‘सिर्जना गरौं, प्रतिस्पर्धा गरौं, विजय प्राप्त गरौं’ भन्ने प्रेरणादायी नारासहित अभियान अपट्रेन्डलीसँगको सहकार्यमा अगाडि बढाइएको हो।
यो अभियानले १६ वर्ष नाघेका कुनै पनि नेपाली नागरिकलाई सहभागी बन्न आह्वान गरेको छ। इच्छुक सहभागीले ‘मेरो सञ्जाल, मेरो जडान’ भन्ने विषयवस्तुमा आधारित ३० देखि ९० सेकेन्ड अवधिको ठाडो भिडियो तयार गरी सामाजिक सञ्जालहरूमा सार्वजनिक गर्नुपर्नेछ। भिडियो पोस्ट गर्दा एनसेललाई उल्लेख गर्नुका साथै प्रतियोगिताका लागि तोकिएका विशेष चिन्हहरू प्रयोग गर्नुपर्नेछ। दर्ता खुला गरिएको प्रतियोगितामा सहभागिता जनाउन अन्तिम म्याद जेठ २७ गतेसम्म तोकिएको छ।
एनसेलले यो प्रतियोगितालाई सिर्जनात्मक क्षमताको पहिचान र विकास गर्ने माध्यमको रूपमा अघि सारेको छ। कम्पनीकी बजार तथा दिगोपन सञ्चार निर्देशक पुनम सिंहका अनुसार, 'यो केवल प्रतिस्पर्धा नभई एक सिर्जनात्मक यात्रा हो, जसमा प्रशिक्षण, कार्यशाला, चूनौतीहरू र पुरस्कार समेटिएका छन्। हामी नयाँ पुस्तालाई सशक्त बनाउँदै उनीहरूको क्षमता उजागर गर्न चाहन्छौँ।'
प्रतियोगितामा सहभागी हुनेहरूले चर्चित डिजिटल व्यक्तित्व र अनुभवी प्रशिक्षकहरूबाट मार्गदर्शन पाउनेछन्। सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा र एकता तण्डुकारजस्ता स्थापित अनुहारहरू यस अभियानका प्रशिक्षकका रूपमा रहनेछन्। देशभरिबाट प्राप्त सामग्रीमध्ये उत्कृष्ट ५० जनालाई छानिनेछ, जसलाई पाँच समूहमा विभाजन गरी विशेष तालिम दिइनेछ।
प्रतियोगितामा चूनौती चरण पनि समावेश गरिएको छ, जसमा सहभागीहरूले आयोजकबाट दिइएको सृजनात्मक निर्देशन अनुसार सामग्री तयार पार्नुपर्नेछ। उक्त सामग्रीलाई विज्ञ निर्णायकहरूले मुल्याङ्कन गर्नेछन्।
अभियानको अन्तिम प्रतिस्पर्धा अर्थात् महा समापन असार १४ गते आयोजना गरिनेछ। त्यस अवसरमा उत्कृष्ट सर्जकको घोषणा गरिनेछ। मुख्य विजेताले एनसेलसँग एक वर्षका लागि दश लाख रुपैयाँ बराबरको ब्रान्ड सम्झौता प्राप्त गर्नेछ। उनीहरूलाई सार्वजनिक कार्यक्रममार्फत सम्मान पनि गरिनेछ। साथै, सहभागीहरूमध्ये छानिएका उत्कृष्ट प्रतिभालाई चर्चित सर्जकहरूसँग कार्य गर्न, देशभर पहिचान स्थापित गर्न र सञ्जाल विस्तार गर्न सघाउने अवसर प्रदान गरिनेछ।
प्रतियोगितामा प्राप्त हुने सामग्रीको मूल्याङ्कन एनसेलसँगै अमेरिकाको राजदूतावासका प्रतिनिधिहरूद्वारा पनि गरिनेछ। एनसेलले यस अभियानलाई डिजिटल माध्यममा उदाउँदै गरेका नयाँ पुस्ताका लागि सशक्त मंचका रूपमा प्रस्तुत गरेको छ।