शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सरदर मितिभन्दा १५ दिनअघि नै पूर्वबाट भित्रियो मनसुन, प्रभाव विस्तार हुन अझै केही समय लाग्ने

शुक्रबार, जेठ १६ २०८२
सरदर मितिभन्दा १५ दिनअघि नै पूर्वबाट भित्रियो मनसुन, प्रभाव विस्तार हुन अझै केही समय लाग्ने

मनसुनका कारण कोशी प्रदेशका अधिकांश मौसम केन्द्रमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको विभागले जनाएको छ।

काठमाडौं- नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागले आज विज्ञप्ति जारी गरी यस वर्षको मनसुन बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू-भागमा विस्तार भएको जनाएको छ। 

मनसुनका कारण कोशी प्रदेशका अधिकांश मौसम केन्द्रमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको विभागले जनाएको छ। विभागमा महानिर्देशक कमलराम जोशीले नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहे पनि मे २९ मा नै नेपालमा मनसुन भित्रिएको जनाकारी दिए।

'नेपालका अन्य भू-भागहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समयमा लाग्ने देखिन्छ। हाल देशको बाँकी भू-भागमा भने पश्चिमी वायु र स्थानीय वायुको प्रभाव यथावत् देखिन्छ,' उनले भने। 

मौसम पूर्वानुमान महाशाखाले मौसमको अवस्थाको निरन्तर अनुगमन गरिरहेको छ र सोहीअनुसार नियमितरुपमा मौसम सूचना अद्यावधिक गर्दै जाने जोशीले जानकारी दिए।

विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ। विभागले आज सार्वजनिक गरेको आगामी मनसुनको हावापानी आकलनअनुसार यही जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ।

'यस ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ। कर्णाली प्रदेशको पूर्वी भू-भाग, लुम्बिनी प्रदेशको उत्तरी भू-भाग र गण्डकी प्रदेशको अधिकांश भू-भागमा सरदरभन्दा बढी वर्षा हुने संभावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत छ', उनले भने, 'सुदूरपश्चिम प्रदेशको दक्षिणी भू-भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू-भाग, गण्डकी प्रदेशको उत्तर-पूर्वी भू-भाग, बागमती र कोशी प्रदेशको उत्तरी भू-भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत छ।'

त्यसैगरी मधेस प्रदेशका पूर्वी तथा दक्षिणी भू-भागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत छ भने देशका बाँकी भू-भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको जोशीले बताए। रासस


प्रकाशित : शुक्रबार, जेठ १६ २०८२१७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend