शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

काँक्रोको बीउबाट राम्रो आम्दानी गर्दै किसान

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १६ २०८२
काँक्रोको बीउबाट राम्रो आम्दानी गर्दै किसान

कृषि ज्ञान केन्द्र पर्वतले कृषकलाई तालिम दिनुका साथै बीउ खरिदमा ५० प्रतिशत अनुदान दिएको छ भने मल विषादी र कृषि सामग्री खरिदमा समेत ५० प्रतिशतसम्म अनुदान सहयोग गरेको छ।

पर्वत- पर्वतका विभिन्न गाउँमा काँक्रोको बीउका लागि व्यावसायिक रुपमा खेती भइरहेको छ। किसानले काँक्रोको बीउबाट मनग्य आम्दानी लिन थालेका छन्।

गत वर्ष फागुनको पहिलो साता लगाएको भक्तपुरे लोकल जातको काँक्रो पाकेर अहिले फाँटैभरि पहेँलपुर छ। अत्यधिक बढेको गर्मीसँगै कृषकलाई काँक्रो टिपेर बीउ निकाल्न भ्याइनभ्याइ भएको हो। 

बिहादी गाउँपालिका-१ बाच्छा, फलेवास नगरपालिका-११ पाङराङ, वडा नं १० कुर्घा, वडा नं ७ लिमिठाना, वडा नं ६ देवीस्थान र वडा नं ५ खानीगाउँ तथा जलजला गाउँपालिका-४ खोलाखेत र वडा नं ७ धाइरिङका कृषकले व्यावसायिक रुपमा काँक्रोको बीउ उत्पादन गर्दै आएका छन्। अनुकूल मौसम र हावापानीका कारण विगतका वर्षहरुमा भन्दा यस वर्ष काँक्रोको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ। 

फलेवास नगरपालिका-११ पाङराङमा ७२ कृषकले व्यावसायिक रुपमा काँक्रोखेती गर्दै आएका छन्। यो गाउँमा गत वर्ष बीउ बिक्रीबाट रु ६ करोड भित्रिएको र गत वर्षभन्दा यस वर्ष अझै उत्पादन बढ्ने स्थानीय बाबुराम भुसालले बताए। 

यस्तै बिहादी गाउँपालिका-१ बाच्छामा मात्रै कृषकले २०० रोपनी क्षेत्रफलमा बीउका लागि काँक्रोको खेती गरेका छन्। बाच्छामा बीउ काँक्रोको व्यावसायिक उत्पादनमा लागेको सिर्जनशील कृषक समूहले मात्रै १०० रोपनीमा काँक्रो लगाएको छ। कृषक समूहका अध्यक्ष शिवकुमार क्षेत्रीका अनुसार २८ कृषक उक्त समूहमा आबद्ध छन्।

गत वर्ष काँक्रोको बीउ प्रतिकिलो रु १३ हजारका दरले बिक्री गरिएको थियो। अहिले पनि काठमाडौं, पोखरा, बुटवललगायतका स्थानबाट काँक्रोको बीउको माग भइहेको छ। मूल्य भने तोकिएको छैन। कृषक क्षेत्रीले १७ रोपनी क्षेत्रफलको जग्गामा काँक्रोको खेती गरी कम्तीमा पनि १०० किलोभन्दा बढी काँक्रोको बीउ उत्पादन हुने बताए। 

यसैगरी जलजला गाउँपालिका-७ धाइरिङको सल्यानका कृषकले गत वर्ष काँक्रोको बीउ बेचेर रु तीन करोड आम्दानी गरेका थिए। यस वर्ष अझै वृद्धि हुने अनुमान गरिएको स्थानीय टुङ्गनाथ आचार्यले बताए। 

कृषि ज्ञान केन्द्र पर्वतका वरिष्ठ कृषि विकास अधिकृत पर्शुराम अधिकारीले काँक्रोको बीउखेती गरिएको जग्गाको क्षेत्रफल २०० रोपनीले वृद्धि भएको र मौसम पनि अनुकूल भएको हुँदा यस वर्ष जिल्लाभरबाट कम्तीमा पनि आठ करोड रकम बराबरको काँक्रोको बीउ उत्पादन हुने अनुमान गरिएको बताए।

कृषि ज्ञान केन्द्र पर्वतले कृषकलाई तालिम दिनुका साथै बीउ खरिदमा ५० प्रतिशत अनुदान दिएको छ भने मल विषादी र कृषि सामग्री खरिदमा समेत ५० प्रतिशतसम्म अनुदान सहयोग गरेको प्रमुख अधिकारीले बताए।  

अहिले काँक्रो टिप्ने र बीउ निकाल्ने तथा सुकाएर थन्क्याउने काम भइरहेको छ। असार दोस्रो सातापछि व्यापारीलाई बिक्री गरिने कृषकले बताएका छन्। यहाँको बीउ नार्क तथा निमाकोललगायतका संस्थाले लैजाने गरेका छन्। रासस


प्रकाशित : शुक्रबार, जेठ १६ २०८२१२:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend