शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेपाल र भारतका विज्ञहरुबीच कुखुरापालन व्यवसायबारे छलफल

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १६ २०८२
नेपाल र भारतका विज्ञहरुबीच कुखुरापालन व्यवसायबारे छलफल

भारतीय सीमा क्षेत्रमा पोल्ट्रीजन्य सामग्री आयात निर्यातमा देखापरेका समस्या समाधान गर्न छलफल सहयोगी बनेको छ।

चितवन- नेपाल र भारतका विज्ञहरुबीच कुखुरापालन व्यवसायबारे छलफल भएको छ। यहाँ आयोजित ‘सुदृढ पोल्ट्री उद्योग र दिगो विकास तथा आर्थिक सफलता’ विषयमा छलफल गरिएको हो। 
 
भारतको पोल्ट्री रिभ्यू र नेपाल भेटेनरी पोल्ट्री एसोसिएसनको संयुक्त आयोजनामा भएको गोष्ठीमा नेपाल र भारतका सात विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा डा सुविर सिंहका अनुसार भारतका पाँच र नेपालका दुई पोल्ट्री क्षेत्रमा विशेषज्ञता हासिल गरेका विषय विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए।
 
नेपाल र भारतका १०३ वैज्ञानिक, उद्यमी, शिक्षाविद् र नीति निर्माता सहभागी भएको उक्त कार्यक्रममा ‘नेपालमा पोल्ट्री उद्योगः अनिश्चिचताबीचको सम्भावना’ विषयमा डा दिनेश गौतम र प्रा डा सिंहले नेपालको पोल्ट्री व्यवसायका अवसर र चुनौतीबारे विश्लेषण गरेका थिए।
 
सो अवसरमा प्रा डा ए एस राणादेले वातावरणमैत्री फिड प्रविधिको विकास र प्रभावका बारेमा प्रकाश पारेका थिए। डा विजयकुमार श्रेष्ठ र प्रा डा रेवन्तकुमार भट्टराईले सङ्क्रामक रोगको प्रकोप व्यवस्थापन विषयमा पोल्ट्री क्षेत्रमा देखापर्ने रोग र तिनको रोकथाम तथा नियन्त्रण रणनीतिबारे जानकारी गराए।
 
यस्तै डा सन्तोष एम आइरेले पोल्ट्री फार्महरुमा स्वस्थ पानी व्यवस्थापनको महत्वबारे चर्चा गरेका थिए। भारतको सेपिएन्स ग्रुपका प्रशान्त कुमारले प्रविधिको प्रयोगबाट पोल्ट्रीजन्य उत्पादन र व्यवस्थापन कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा प्रस्तुति दिएका थिए।
 
कार्यक्रममा विहार पोल्ट्री किसान महासङ्घका डा पवनकुमारले विहार राज्यको पोल्ट्री व्यवसायमा भइरहेका अभ्यासबारे अनुभव सुनाए। सो अवसरमा नेपाल र भारतको सहकार्यको सम्भावना, नीति समन्वय, प्रविधि हस्तान्तरण, संयुक्त अनुसन्धानको आवश्यकता र सम्भावनाबारे समूहगत छलफल गरिएको थियो।
 
पोल्ट्री उद्योगमा विश्वभर भएका गुणस्तरीय सुधारका अभ्यासका बारेमा छलफल भएको प्रा डा सिंहले बताए। उनले भने, 'कार्यपत्र र छलफलले विशेषज्ञहरुका बीचमा ज्ञान, सीप र अनुभव आदानप्रदान गराएको छ।'

भारतीय सीमा क्षेत्रमा पोल्ट्रीजन्य सामग्री आयात निर्यातमा देखापरेका समस्या समाधान गर्न छलफल सहयोगी बनेको उनको भनाइ छ।
 
कार्यक्रममा पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट, पोल्ट्री इण्डियाका अध्यक्ष उदयसिंह बायस, कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा आइपी ढकाललगायतले आआफ्नो धारणा राखेका थिए। रासस


प्रकाशित : शुक्रबार, जेठ १६ २०८२११:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend