काठमाडौं- आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार निर्माणमा विभिन्न घोषणाहरू गरेका छन्।
आधुनिक र गुणस्तरीय पूर्वाधार निर्माण गरी मुलुकको आर्थिक सामाजिक विकासलाई तीब्रता दिइने, सुरक्षित र भरपर्दो आवागमनको लागि दिगो सडक सञ्जालको विस्तार गरिने साथै द्रुतमार्ग, अन्डरपास र ओभरपास जस्ता आधुनिक पूर्वाधारहरूको निर्माणलाई तीब्रता दिइने उल्लेख गरिएको छ।
यस्तै आर्थिक, प्राविधिक र वातावरणीय दृष्टिले उपयुक्त देखिएका स्थानमा मात्र सडकका लागि नयाँ ट्र्याक खोल्ने नीति लिइने साथै सडक पूर्वाधार निर्माण गर्दा सुरूङ प्रविधिको प्रयोग विस्तार गर्दै लगिने उल्लेख छ।
सहरी तथा संवेदनशील भू-बनोट भएका क्षेत्रमा गुणस्तरीय र दिगो सडक निर्माण गर्न सिमेन्ट, छड, गिट्टी र वालुवा प्रयोग गरी आरसीसी ढलानसहित कालोपत्रे गरिने उल्लेख छ।
यस्ता छन् पूर्वाधारमा बजेटको घोषणा -
- २१० मेगावाट क्षमताको चैनपुर सेती र १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको निर्माण प्रारम्भ गरिने
- प्रसारण लाइन विस्तार तथा वितरण आयोजनाका लागि १३ अर्ब १८ करोड विनियोजन
- वैकल्पिक ऊर्जातर्फ २ अर्ब ३३ करोड विनियोजन
- सिक्टा र बृहत दाङ उपत्यका सिँचाइ आयोजनाका लागि ८ अर्ब ५० करोड
- भेरी-बबई डाइभर्सन आयोजनाका लागि २ अर्ब ७ करोड
- सुनकोसी मरिण डाइभर्सनका लागि २ अर्ब ७३ करोड
- मनसुनजन्य विपद र भुकम्पीय प्राकोपबाट प्रभावित सिँचाइ क्षेत्र पुननिर्माण गर्न ५ अर्ब ५९ करोड
- आर्थिक वर्षको अन्यसम्म ४ हजार ८ सय मेगावाट विद्युत उत्पादन गर्ने
- ७३२ किलोमिटर डबल सर्किट राष्ट्रि प्रसारणलाइन निर्माण गर्ने
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो यात्रु चापलाई व्यवस्थापन गर्न क्षमता विस्तार गरी वुटिक विमानस्थलमा विकास गर्न ४ अर्ब १५ करोड विनियोजन
- नागढुंगा र सिद्धबाबा सुरुङमार्गको निर्माण सम्पन्न गर्न २ अर्ब ६० करोड
- पूर्वपश्चिम राजमार्गको गड्डाचौकी-अत्तरिया सडक स्तरोन्नति सुरु गर्न २१ अर्ब १९ करोड विनियोजन
- सिद्धार्थ राजमार्गलाई डेडिकेटेड डबल लेनमा विस्तार सुरु गरिने
- मध्यपहाडी राजमार्गको दूरी, लागत दुर्घटना घटाउन राजमार्गको रेखांकन परिमार्जन गरिने। साथै सुरुङ र भायाडक्टसहितको डेडिकेटेड डबल लेनमा स्तरोन्नतिको पूर्वतयारी गर्न ३ अर्ब ९४ करोड
- काठमाडौं-तराई-मधेस द्रुतमार्गका लागि २४ अर्ब ४९ करोड
- आँबुखैरेनी-पोखरा सडक खण्डलाई ८ अर्ब ५२ करोड
- कर्णाली करिडोरलाई १ अर्ब १७ करोड
- मदन भण्डारी राजमार्गका लागि २ अर्ब ५१ करोड
- रसुवा-गल्छी सडकका लागि २ अर्ब ५६ करोड
- चक्रपथको कलंकी-बसुन्धरा खण्डलाई १ अर्ब २४ करोड
- बीपी राजमार्गलाई ३ अर्ब १८ करोड
- निर्माणाधीन वैकल्पिक सहायक राजमार्ग र निर्वाचन क्षेत्र राणनीतिक सडकमा सिर्जित दायित्व आगामी आवमा फरफारक गरिने। जसका लागि २१ अर्ब ८ करोड विनियोजन
- न्यूजलपाइगुडी-काँकडभिट्टा, नौतवना-भैरहवा र नेपालगन्जरोड-नेपालगन्ज जोड्ने रोलमार्ग निर्माण तयारी सुरु गर्ने
- नागढुंगा, सिद्धबाबा र फाष्ट ट्रयाकमा पर्ने तीन वटै सुरुङमार्ग निर्माण सम्पन्न गर्ने
- राष्ट्रिय गौरव र प्रमुख सडक आयोजनामा थप ८५० किलोमिटर सडक कालोपत्र र १७१ वटा मोटोरेवल पुल निर्माण गर्ने
- निजी क्षेत्रसँगको साझेदारीमा व्यवस्थित सहर विकास गरिने
- काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माण गर्ने
- स्थानीय तहका निर्माणाधीन १२९ वटा प्रशासकिय भवन सम्पन्न गर्न १ अर्ब विनियोजन
- काठमाडौं उपत्यकाभित्रका करिडोर सडक विस्तार गर्न ३ अर्ब ४२ करोड
- मध्यपहाडी राजमार्गका १० स्थानमा नयाँ सहर निर्माण गर्न १ अर्ब ७० करोड
- सघन सहरी विकासका लागि ५ अर्ब ३६ करोड
- झोलुंगे पुलका लागि ८ अर्ब ९० करोड
- नगर विकास कोषको पुनर्संरचना गर्न बजेट १ अर्ब २ करोड
- जनता आवास कार्यक्रमअन्तर्गत ५ हजार घरमा फुसको छाना हटाउन ७५ करोड
- सुन्दरीजलमा २५ करोड ५० लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्र निर्माण गरिने
काठमाडौं उपत्यकामा खानेपानी प्रणाली विस्तार गर्न ६ अर्ब ३७ करोड विनियोजन
तराई-मधेशका २८० वटा अधुरा खानेपानी आयोजना पूरा गर्ने
९८ प्रतिशत जनसंख्यामा आधारभुत खानेपानी सेवाको पहुँच पुर्याउने
खानेपानी मन्त्रालयका लागि ३३ अर्ब ८९ करोड विनियोजन
मनसुन र भूकम्पजन्य विपदबाट क्षतिभएका निजी आवाससहित पूर्वाधार संरचनाका लागि १८ अर्ब ५० करोड