शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

भन्सार मूल्यांकन प्रणालीमा सुधार, सन्दर्भ मूल्यपुस्तिलाई प्रतिस्थापन गर्ने

बिहीबार , जेठ १५ २०८२
भन्सार मूल्यांकन प्रणालीमा सुधार, सन्दर्भ मूल्यपुस्तिलाई प्रतिस्थापन गर्ने

त्यस्तै मदिरालगायतका वस्तुमा रहेको पुरानो मूल्यांकन प्रणाली हटाएर नयाँ लागु गरिएको छ।

काठमाडौं- सरकारले भन्सार मूल्यांकन प्रणालीलाई आधुनिक बनाउँदै जाने घोषणा गरेको छ। यसको सुरुवातका रुपमा आगामी आर्थिक वर्षदेखि केही वस्तु र समग्र प्रणालीमै सुधार गर्ने भएको छ। 

बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले भन्सारमा रहेको सन्दर्भ मूल्यपस्तिकालाई खारेज गर्ने घोषणा गरेका छन्। कारोबार मूल्यामा आधारित स्वचालित डेटाबेस जुन अन्तर्राष्ट्रिय प्रलचनमा हुन्छ त्यसैलाई लागु गरेर पुस्तिका प्रणाली खारेज गर्ने भएका छन्। 

लामो समयदेखि नेपालकै व्यवसायीले मूल्यांकन प्रणालीलाई आधुनिक प्रणालीमा लैजान आग्रह गरेपनि भन्सार प्रशासनले त्यसमा अटेर गर्दा नाकामा यस्तो विकृति मौलाएको थियो। 

कारोबारको बिललाई मान्यता नदिएर भन्सार प्रशासन आफैले तयार पारेको सन्दर्भ मूल्यपुस्तिकाको आधारमा मूल्यांकन गर्ने परम्परा नेपालमा रहेको छ। आयातको ठूलोभन्दा सानो तथा विशेषगरी ससाना व्यवसायीले गर्ने आयातमा यस्तो समस्या देखिने गरेको छ।

विश्व व्यापार संगठनको भन्सार महसुल तथा व्यापारसम्बन्धी सामान्य सम्झौता (ग्याट) को धारा ७ कार्यान्वयनका लागि भएको सम्झौतामा भन्सार मूल्याकंनसम्बन्धी नियम छन्। यसमा ६ वटा विधि रहेका छन्। 

यी ६ विधिमा कारोबार मूल्यको आधारमा मूल्यांकन गर्ने, उस्तै वस्तुको कारोबारको मूल्य हेर्ने, समरुप वस्तुको कारोबार मूल्य, घटाउने प्रक्रिया, गणना गर्ने प्रक्रिया तथा मनासिव आधारमा मूल्यांकन गर्न सकिने विधि उल्लेख गरिएको छ। यी कुनै पनि विधिमा घोषणाकर्ताले छनौट गर्न पाउने सुविधा पनि रहेको छ। 

तर भन्सार प्रशासनले भने एउटा सन्दर्भ मूल्यपुस्तिका नै बनाएको छ। २०७५ पहिले सामान्य सन्दर्भका रुपमा प्रयोग गर्ने गरिएको उक्त पुस्तिकालाई पछिल्लो समय झन बाध्यकारी बनाउँदै लगिएको छ। तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले भन्सारमा यसलाई कडाइ गर्न निर्देशन दिएका थिए। अब यसलाई खारेज गरिने भएको छ। 

त्यस्तै मदिरालगायतका वस्तुमा रहेको पुरानो मूल्यांकन प्रणाली हटाएर नयाँ लागु गरिएको छ। 


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१८:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend