शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

खेलकुद क्षेत्रमा अहिलेसम्मकै बढी बजेट

बिहीबार , जेठ १५ २०८२
खेलकुद क्षेत्रमा अहिलेसम्मकै बढी बजेट

सरकारले कर्णाली प्रदेशमा आयोजना गरिने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि ५४ करोड रूपैयाँ विनियोजन गरेको छ।

काठमाडौं- सरकारले खेलकुद क्षेत्रका लागि अहिलेसम्मकै बढी बजेट विनियोजन गरेको छ। 

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा खेलकुद मन्त्रालयका लागि ६ अर्ब आठ करोड रूपैयाँ रकम विनियोजन गरेको छ।

आर्थिक वर्ष २०८१/८२ मा तीन अर्ब ५० करोड बजेट विनियोजन गरिएको थियो। यसपटक दुई अर्ब ५६ करोड रूपैयाँ वृद्धि गरिएको हो।

सरकारले कर्णाली प्रदेशमा आयोजना गरिने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि ५४ करोड रूपैयाँ विनियोजन गरेको छ। काठमाडौंको मुलपानी क्रिकेट रंगशाला, मोरङको गिरिजाप्रसाद कोइराला रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला र रुपन्देहीको सिद्धार्थ रंगशाला निर्माणका लागि ४२ करोड रूपैयाँ रकम विनियोजन गरेको छ।

यस्तै, कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्तरोन्नतिका लागि सरकारले ४० करोड रूपैयाँ रकम विनियोजन गरेको छ। झापाको दमकमा सवै प्रकारका खेल प्रतियोगिता सञ्चालन गर्न सकिने आधुनिकस्तरको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने बजेटमा उल्लेख गरिएको छ। 

चितवनस्थित गौतमबुद्ध क्रिकेट रंगशालाको सिर्जित सम्पति खरिद गर्न सशर्त अनुदानको व्यवस्था गरेको छ। अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता नेपाली खेलाडीलाई प्रोत्साहन गरिने र उनीहरुका सन्ततिका लागि शैक्षिक छात्रवृद्धि प्रदान गरिने बजेटमा उल्लेख छ। खेल विधाको विविधीकरण र खेल पर्यटनको प्रवर्द्धन गर्न सरकारले सोलुखुम्बु, मुस्ताङ र जुम्लामा हाई अल्टिच्यूड स्पोर्टस् स्टेडियम बनाउने बजेटमार्फत घोषणा गरेको छ। 

त्यसैगरी सरकारले राष्ट्रिय एन्टी डोपिङ एजेन्सी सञ्चलान गर्न आवश्यक बजेट विनियोजन गरेको छ भने खेलकुदमा महिला सहभागितालाई बढाउन प्रशिक्षण तथा अभ्यास कार्यक्रम सञ्चालन गरिने भएको छ। त्यस्तै उत्कृष्ट महिला खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिने बजेटमा उल्लेख छ। रासस


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१७:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend