शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

झिँका किसानलाई अनुदानमा कृषि औजार वितरण

बुधबार, जेठ १४ २०८२
झिँका किसानलाई अनुदानमा कृषि औजार वितरण

७५ प्रतिशत अनुदानमा ६७ जना कृषकलाई ३० वटा मिनिटेलर हलो, १८ वटा थ्रेसर मेसिन, १९ वटा कम्बाइन मेसिन वितरण गरिएको छ।

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका-५ झिँका कृषकलाई परम्परागत बाली जौ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ गर्न कृषकलाई अनुदानमा कृषि औजार वितरण गरिएको छ।

गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवर्द्धन साझेदारी कार्यक्रमअन्तर्गत झिँका परम्परागत जौ र उवा बालीको व्यावसायिक खेतीको विकास र किसानको आयआर्जन वृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन भएको परियोजनामार्फत कृषि औजार वितरण गरिएको हो।

७५ प्रतिशत अनुदानमा ६७ जना कृषकलाई ३० वटा मिनिटेलर हलो, १८ वटा थ्रेसर मेसिन, १९ वटा कम्बाइन मेसिन वितरण गरिएको रघुगंगा गाउँपालिकाको कृषि अधिकृत दिपकराज जोशीले जानकारी दिए।

थप ८२ वटा जौ, उवा र कोदो तथा घाँस काट्ने ब्रस कटर, एक सेट कुकीज उत्पादन गर्ने मेसिन, १६६ थान त्रिपाल, १०० वटा ३०० किलोग्राम तौल क्षमताको मेटल बिन दोस्रो चरणमा वितरण गरिने उनले बताए।

सिँचाइका लागि २० एमएमको चार हजार ३६४ मिटर, २५ एमएमको एक हजार ५००, ३२ एमएमको चार हजार २०० र ४० एमएमको २०० मिटर पाइप वितरण गर्ने क्रममा रहेको कृषि अधिकृत जोशीले बताए।

रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी, वडाध्यक्ष मनबहादुर शेरमन्जा र कृषि अधिकृत जोशीले मंगलबार कृषि औजार वितरण गरेका थिए। परियोजनाका लागि प्रदेश सरकारले ७५ लाख रूपैयाँ र गाउँपालिकाले २५ लाख रूपैयाँ विनियोजन गरेका छन्।

लोप हुँदै गएको परम्परागत जौ र उवा बालीको संरक्षण गरी विभिन्न खाद्य परिकार बनाएर बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको परियोजनामार्फत जौ र उवाको उत्पादसँगै किसानलाई गाउँमै आम्दानीको अवसर सिर्जना हुने गाउँपालिकाका अध्यक्ष भण्डारीले बताए।

परियोजनामार्फत झिँका २८३ परिवार कृषक लाभान्वित हुनेछन्। ३०० रोपनी क्षेत्रफल जमिनमा जौ र उवाखेती विस्तार भएको छ। परियोजनामार्फत जौ र उवा प्रशोधन गरेर कुकिज र बिस्कुट उत्पादन गर्ने उद्योग सञ्चालन गर्न लागिएको वडा अध्यक्ष शेरमञ्जाले बताए।

किसानलाई सूचीकरण गरी परम्परागत जौ र उवा बालीको महत्वबारे जानकारी गराई खेती प्रविधिसम्बन्धी तालिमसमेत दिइएको थियो। झिँका होटल र होमस्टेमा जौ र उवाको परिकार बनाउने सीप हस्तान्तरणका लागि तालिम सञ्चालन भएको थियो। प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले कृषि औजार र सामग्रीको प्रयोग गरि जौ र उवाको उत्पादन वृद्धि गरी आयआर्जनमा अग्रसर हुन आग्रह गरे।

पोसिलो खाद्यान्न जौ र उवाको पछिल्लो समय खेती घटेको छ। आगामी २०८२ जेठभित्र परियोजना सञ्चालन हुनेछ। जौ हिन्दु धर्मावलम्बीको र जौको सातु बौद्ध धर्मावलम्बीको धार्मिककार्यमा अनिवार्य मानिन्छ। जौको आँटो, पीठोको ढिँडो र सातु बनाएर उपभोग गर्न सकिन्छ।

उवालाई भुटेर खाजा खाने गरिन्छ। सुक्खा र खडेरी सहने जौ पहाडी र हिमाली क्षेत्रको मुख्य खाद्यबाली हो। युरोपका देशमा जौबाट रोटी, पाउरोटी, बियरलगायत बनाउने बताइएको छ। रासस


प्रकाशित : बुधबार, जेठ १४ २०८२१४:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend